नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो

जनकपुरमा एकजना र उदयपुरमा थप एकजना कोरोनाभाइरसका बिरामी फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आमा–छोरा ‘डिस्चार्ज’
यस्तै, पाटन अस्पतालमा उपचारमा रहेका ८१ वर्षीया आमा र ५८ वर्षीय छोरा पूर्णरुपमा निको भइ ‘डिस्चार्ज’ भएका छन् ।
बेलायतबाट आइ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका उनीहरुलाई गत साता अस्पताल भर्ना गरिएको थियो ।
योसँगै नेपालमा हालसम्म ९ जना कोरोनाभाइरसमुक्त भइ घर फर्किएका छन् भने काठमाडौंका विभिन्न अस्पतालमा उपचारमा रहेका सबै बिरामी पूर्णरुपमा स्वस्थ भएका छन् ।
उपत्यकाबाहिर विभिन्न अस्पतालमा ३८ जना उपचारमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा. देवकोटाले बताए ।
देशभर ‘पीसीआर’ र ‘आरडीटी’ गरी ४३  हजार ७२२ जनाको स्वास्थ्य परीक्षण भएको पनि उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले ‘लकडाउन’को समयमा पनि अन्य उपचारको क्रम जारी रहेको जानकारी दिए ।
हालसम्म एक महिनाभित्र ८६१ जना चोटपटक लागेका बिरामीको उपचार गरेको र कोरोनाभाइरसका बिरामीका लागि सातओटा भेन्टिलेटर तथा ‘आइसीयु’कक्ष तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।
हाल देशभर १० हजार ५७३ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने ८६ जना ‘आइसोलेसन’कक्षमा छन् । इमेजखबरमा समाचार छ ।