कोरोनाले सिकाएको पाठ

संजय घिमिरे
सन् २०१९को अन्त्यतिर चिनको वुहान शहर देखि फैलिएको कोरोनाले महामारीको रुप ग्रहण गर्यो,फलस्वरूप सिंगो विश्व जगत नै यसबाट थलिएको छ।शक्ति राष्ट्र भनिने अमेरिका र विकसित युरोपेलि देशहरु सबैभन्दा बढी प्रभावित छन।ति देश विकसित भएपनि जनता सुसुचित र राज्य प्रति कम ज़िम्मेवार भैदिंदा साथै सरकार र विश्व स्वास्थ्य संगठनको आग्रहलाई बेवास्ता गर्दा कोरोनाले फैलिने अवसर पाएको भनिएको छ।
तुलनात्मक रुपमा हाम्रो जीवनशैली खानपान,आहार विहार,संस्कृति विकसित भनिने पश्चिमाहरुको भन्दा धेरै वैज्ञानिक र हितकारी रहेछन भन्ने कुराहरुको अहिले चर्चा हुन थालेको छ।विडम्बना भनौं नेपालीहरुलाई हात धुन सिकाउने पश्चिमा आइ एन जि ओ हरु आफ्नै नागरिकलाई हात धुन र स्वस्थ आहार विहारको ज्ञान बाँड्न पछि परेको अनुभुति भएको छ।
जानअन्जानमा गरिरहेका मानवीय क्रियाकलापले सिंगो मानव सभ्यता नै जोखिममा पर्न सक्ने अनुमान गर्न थालिएको छ।हामीले भोगिरहेको कोरोना कहर र यस्ले पुर्याइरहेको ठुलो क्षतिका वाबजुद पनि यस्ले केही पाठ अवस्य सिकाएको छ र केही सकारात्मक प्रभाव पनि छन,आउनुस ति के हुन त चर्चागरौं
विश्वका अधिकांश देश ठप्प प्राय छन।उधोग धन्दा कलकारखाना,सार्वजनिक यातायात,रेल सेवा हवाई सेवा बन्द छन।सधै भिडभाड हुने,ट्राफ़िक प्रहरीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने काठमांडौ,दिल्ली जस्ता दैनिक हजारौं गाडी छातिमा कुदाउँने विश्वका कैयौं सडकहरु अहिले आनन्दको स्वास फेर्दै चिर निद्रामा लमतन्न पसारिरहेका छन।यो सिंगों शताब्दीकै दुर्लभ घटना भएको छ।ट्राफिक जामको कारण दैनिक चार पाँच घण्टा दर्जनौं जहाजले फन्को मारिरहने काठमांडौको आकाश र त्रासै त्रासमा उडान भर्ने चराचुरुंगीले अचम्म मानिरहेका होलान यो सुनसान आकाश देख्दा।
अहिले लकडाउनको कारण मानिसहरु घरमै बसेका छन।कोलाहल धुवाँ धुलो प्रदूषणका कारण शहरबाट लोप हुने अवस्थाका पन्क्षीहरु निर्भय स्वच्छन्द तरिकाले हावामा कावा खाइरहेकाछन।कोलाहल कम भएकोले थरीथरि चरा चुरुंगीको मृदुल चिरविर सुनिन थालेको छ।जनावरहरु यतिबेला स्वतंत्र आफ्ना क्रियाकलाप गरिरहेका छन।खवर अनुसार हंकंको एउटा चिड़ियाघरमा रहेका पाण्डाको जोडीले दश वर्ष पछि समागम गरेका छन।यसबाट मानिसले आफ्नो मनोरंजन र फाइदाको लागि सिंगो प्रकृतिलाई कसरी कव्जामा राखेको रहेछ भन्ने छर्लंग हुन्छ ।
प्रदूषणको कारण स्वास फेर्न समेत अयोग्य रहेको काठमांडौको वायु स्वच्छ भएको छ।विश्वका प्रदूषित शहरमा पर्ने दिल्लीको आकाश खुलेको छ।त्यहाँबाट २५/३० माइल टाढाका हिमालका दृश्य देखिन थालेका छन।नजिकैबाट पनि स्पष्ट नदेखिने इन्डिया गेटले अहिले आफ्नो चमक देखाइरहेको छ।सधै फोहोरका डंगुर बोकेर बहने यमुना,वाग्मति जस्ता नदीहरु निर्मल,कंचन भएकाछन।मुक्तिको श्वास फेरिरहेकाछन।
भोग विलास एैश आराम,मनोरंजनका लागि हामीले गरिरहेका कार्यहरुकै कारण हामीले यो अवस्थाको सामना गर्नुपरेको छ।हामीले घर भित्रै बसिरहँदा स्वतंत्रता के रहेछ भन्ने कुराको राम्रो अनुभव बटुलेकाछौं।सुरुका दुई चार दिन त निकै गार्हो भयो हामीलाई तर अहिले लकडाउनको एक महिना पार गर्दै गर्दा हामी अभ्यस्त भैसक्यौं।पेशा व्यवसाय,उधम सबै भुलेर घरभित्रै बसिरहंदा पनि दिनचर्या सामान्य जस्तै लाग्न थालेका छन।
हामी सानो छंदा गुजी आउँछ भनेर डराउन दिनुहुन्थ्यो आमाहरुले,गुजी नदेखेरै पनि हामी गुजी भनेपछि डराउंथ्यौं।अलि ठुलो भएपछि भुतप्रेत जंगली जनावर,कुनै बेला बा आमाको थप्पड र शिक्षकको लठ्ठी संग डरायौं।अलि बुझ्ने भएपछि आफ्नै भविष्य र सपना देखि डराइरहेका हामी अचानक दिनरात नभनेर छाप्न खोज्ने पैसा देखि डराइरहेका छौं।अझै त्यो भन्दा पनि मान्छे मान्छे संगै डराइरहेका छौं।घरपरिवारका सदस्य बिचमा पनि शंका गर्नु पर्ने अवस्था आएको छ।चौतर्फि भय सिर्जित छ।विज्ञानले हार खाएको छ।
हात हतियार बम बारुद रकेट ड्रोनमा विश्वले ठुलो लगानी गरेको रहेछ।जनस्वास्थ्यका क्षेत्रमा हामी धेरै पछाडी रहेछौं। जनस्वास्थ्य जस्तो संवेदनशील विषयलाई हामी कम महत्व दिएका रहेछौं।विश्वले हतियारमा गरेको लगानीको १० प्रतिशत मात्र स्वास्थ्यमा लगानी गरेको भए पिपिई(personal protective equipment) जस्ता सामान्य स्वास्थ्य सामाग्रीको अभावमा डरैडरमा चिकित्सकहरुले उपचार गर्नुपर्ने दिन आउनेथिएनन।अब “स्वास्थ्य नै धन हो”भन्ने भनाईलाई आत्मसात् गर्दै स्वास्थ्य क्षेत्रको बृहत्तर विकासमा ध्यान दिनु पर्ने छ।
कोरोनाले हामीलाई कस्ता व्यवसाय र काम सदाबहार हुनेरहेछन भन्ने कुराको पनि राम्रो ज्ञान दिएको छ।जस्ले आगामी दिनमा हामीलाई लगानी गर्दा यस्ता परिस्थितिमा पनि काम नरोकिने तयारी गर्न वा त्यस्तै प्रकृतिका व्यवसाय छनोट गर्न प्रेरित गरेको छ।
कोरोनाले आत्मनिर्भरताको पाठ पनि राम्रो संग सिकाएको छ।कुनै पनि देश सबैकुरामा आत्मनिर्भर बन्न सम्भव नहेला तर अत्यावश्यक चिजहरुमा आत्मनिर्भर हुनुपर्ने रहेछ भन्ने चांहि अवगत गराएको छ।हरेक कुरामा परनिर्भर हामीहरुले अब कृषिमा लगानी बढाउनुपर्छ,युवाहरुलाई स्वरोज़गार बन्न प्रेरित गर्नु पर्छ।परम्परागत कृषि प्रणाली अपनाइरहेका हामीले कृषिमा आधुनिकीकरण र व्यवसायिक गर्नुपर्दछ।कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने यो राम्रो अवसर पनि हो।भारतबाट भित्रिने कृषिजन्य सामाग्रीमा रोक लगाएर स्वदेशमै उत्पादनमा जोड दिनुपर्छ।हाम्रो हिमाल पहाड़का लेक कुना र कन्दरामा खेर गइरहेका जडीबुटीको संकलन,प्रशोधन,उत्पादन र औषधि निर्माण गरेर अरबौं रकम बाहिरिनबाट रोक्न सकिन्छ ।यसो गर्न सके स्यानिटाइजर जस्ता वस्तुको अभाव झेल्नु पर्दैन भविष्यमा।
व्यक्तिगत सरसफाईमा ध्यान दिने मानवीय क्रियाकलापबाट भैरहेको प्राकृतिक दोहन कम गर्ने हो भने प्रकृतिले माल्थसले भने जस्तो जनसंख्या नियन्त्रणको प्राकृतिक उपाय अवलंबन गरेर यस्तो त्रास दिदैन भन्ने मलाई लाग्दछ।
कोरोनाले वर्षौं पछि धेरै परिवारलाई एकसाथ खाने,बस्ने सुख दुःख साट्ने रमाइलो गर्ने,आत्मियता बाँड्ने,बिभिन्न परिकार बनाउन सिक्ने,सिकाउने,बच्चा बच्चीले बुढापाका संग समय बिताउने,बुढापाकाका कुराहरु सुन्ने र परिवारका सदस्य आपसमा रमाउने वातावरण प्रदान गरेको छ।विहान देखि सांझ सम्म पैसाका लागि दौड्ने पैसा र पैसाका कारण एक हुन नपाएका परिवारका सदस्यलाई एक बनाएको छ।इटालीका जनताले पैसाले मात्र ज्यान बंच्ने रहेनछ,पैसा सबथोक रहेनछ भनेर सडकमा पैसा फ्याकेको घटनाले स्वास्थ्य र परिवार भन्दा ठुलो पैसा रहेनछ भन्ने पाठ सिकाएको छ।
हामीले अबका दिनमा अहिले भुलिसकेका हाम्रा केही सनातन परम्पराहरुलाई पुन निरन्तरता दिनु पर्ने देखिन्छ। हाम्रा पुर्खाहरु प्रकृति पुजक थिए।विभिन्न धर्म या परम्पराका नाममा चराचुरुंगि जनावर,वनस्पति,नदी ताल,तलाउ संरक्षण गर्न बनाएका नियम पाप र धर्मको किंवदंती आखिर सबै प्रकृति संरक्षण र सिंगो चराचर जगत कायम गर्न गरिएका प्रयत्न रहेछन भन्ने कुराहरु हामीहरु बिस्तारै बुझ्दै छौं।हामीले प्रकृति मैत्री विकासमा जोड दिनुपर्छ।हामीले प्रकृतिको संरक्षण गर्यौं भने प्रकृतिले हामीलाई संरक्षण गर्नेछ।
अहिले हामी आजलाई भए भोलि सोंच्दैनौ।भोलिको लागि पुर्व तयारी गर्दैनौं।आफ्नोलागि भए अरुको लागि सोंच्दैनौं।हाम्रा हजुरआमा आमाहरुले हरेक छाकमा एक मुठी अन्न छुट्याएर राख्नुहुन्थ्यो र माग्ने ,जोगि,दिनदुखि आँउदा दिनुहुन्थ्यो।आफुले खानु अघि अलिकति खाना चराचुरुंगिलाई दिएर भोजन गर्ने चलन हाम्रो पुर्वीय सनातन चलन हो।पछि अप्ठ्यारो आउनसक्छ भनेर घाँस दाउरा अन्न महिनौ पुग्ने गरी संचित गरेर राख्नुहुन्थ्यो यस्को अर्थ यस्तै विपतको लागि पूर्व तयारी रहेछ।
हामीले कोरोनाले सिर्जित यो अवस्थाबाट पाठ सिकेर हाम्रा जीवनशैली आहार विहार अंगालेका निति गरीरहेका कार्यहरु कमिकमजोरीको पुनः मूल्यांकन गरेर भविष्यमा यस्ता विपद आउन नदिने र आइहाले पनि नियन्त्रण गर्न सक्ने गरी हामीलाई विकसित गर्नु पर्ने भएको छ।हरेक कालो वादलमा चाँदीका घेरा हुन्छन भनिन्छ त्यस्तै हामीले कोरोनाको महामारी जित्ने छौं। कालो वादल हट्ने छ।त्यतिबेला हाम्रो जिम्मेवारी अझै बढ्ने छ।हामीले थप मिहिनेत गर्नेछौ,संघर्ष गर्नेछौं र हामी पुरानो अवस्था भन्दा माथी उठ्ने छौं।हरेक युद्ध जित्न पूर्व तयारी आवाश्यक हुन्छ त्यसैले हामीले फ़ुर्सदको समयमा अबको हाम्रो रणनीति,गर्नुपर्ने कामको लेखाजेखा गरौं भोलिको लागि तयारी गरौं।यो समय हाम्रो लागि युद्धको पूर्वाभ्यासको रुपमा प्रयोग गरीयो भने भोलि पर्न सक्ने सामाजिक,मनोवैज्ञानिक,आर्थिक संकट हामीले सजिलै पार लगाउन सक्नेछौं।
लेखक संजय घिमिरे,  महालक्ष्मी लाईफ इन्श्योरेंस बुटवलका  शाखा प्रबंधक  हुन् ।