२००८ यताकै तीव्र दरमा खुम्चियो अमेरिकी अर्थतन्त्र

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी अर्थतन्त्रमा सन् २००८ यताकै तीव्र संकुचन आएको छ । सरकारी तथ्यांकअनुसार सन् २०२० को पहिलो त्रैमासमा अर्थतन्त्र ४ दशमलव ८ प्रतिशतले खुम्चिएको छ । 

अर्थतन्त्रमा आएको यो संकुचन सन् २०१४ यताको पहिलो हो । संकुचनको दर भने सन् २००८ को विश्वव्यापी वित्तीय संकटयताकै ठूलो भएको बताइएको छ । 

कोरोना भाइरसको महामारी फैलिने क्रम सुस्त बनाउन अमेरिकाले मार्चदेखि लकडाउन अपनाएको छ । महामारीले विश्वमै सबैभन्दा धेरै मानवीय क्षति अमेरिकामा गराएको छ भने आर्थिक कठिनाइ पनि चुलिएको छ । 

अर्थतन्त्रमा महामारीले पारेको प्रभाव कम गर्न अमेरिकाले करीब ३० खर्ब डलरको राहत कार्यक्रम पनि ल्याएको थियो । केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले पनि ब्याजदर शून्यको स्तर नजिक ल्याउने लगायत विविध आपतकालीन उपायहरु चालेको थियो । 

अर्थतन्त्र महामारीको प्रभावबाट उब्रिन्छ भन्नेमा विश्वस्त नभएसम्म ब्याजदर सोही स्तरमा राखिने बुधवार फेड अध्यक्ष जेरोम पावेलले बताएका थिए । 

योभन्दा बढी गर्नु परे पनि बैंकले गर्ने उनको भनाइ छ । मार्चको मध्ययता साढे २ करोडभन्दा धेरै अमेरिकी बेरोजगार बनेका छन् । व्यवसायीक गतिविधि र उपभोक्ता मनोबलमा ऐतिहासिक कमी आएको छ । 

जुनसम्मको ३ महीनामा भने आर्थिक वृद्धिदर ३० प्रतिशत वा सो भन्दा धेरैले खुम्चिने प्रक्षेपण अर्थशास्त्रीहरुले गरेका छन् । कोरोना भाइरसका कारण समग्र विश्व अर्थतन्त्र सुस्ताएको छ । पहिलो त्रैमासमा चीन्को अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले खुम्चिएको छ । 

यो सन् १९९२ यता त्रैमासिक आर्थिक वृद्धिको तथ्यांक राख्न थालेयताको पहिलो संकुचन हो । अन्य प्रमुख अर्थतन्त्रहरुमा पनि उच्च संकुचन आउने प्रक्षेपणहरु गरिएको छ ।
 
 – एजेन्सी