ताप्लेजुङ सदरमुकाम फुङलिङमा आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ ।
प्रारम्भिक विवरण अनुसार आठ घर जलेर नष्ट भएका छन् भने ३२ परिवार प्रभावित भएका छन् ।
साना होटल तथा पसलहरु जलेर नष्ट भएकाले अहिले नै क्षतिको विवरण संकलन भइसकेको छैन ।
जिल्ला विपद् व्यवस्थापन समितिले क्षतिको पूर्ण विवरण आइसके पछि राहत उपलब्ध गराउने जनाएको छ ।
आज बिहान बसेको सर्वपक्षिय बैठकले क्षतिको विबरण संकलन गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।
समितिले क्षतिको विवरण संकलन गरिरहेको छ । गएराती करिब साढे १० बजेबाट सुरु भएको आगलागीले खेम केसी, नारायण भक्तराई, नेत्र कार्की, चन्द्र प्रसाद निरौला, ठग बहादुर कार्की, हस्तमाया लेछर्बो, रामकुमार शाह र विष्णु कार्कीको घर जलेको छ ।
जिल्ला फुटबल संघ, पाथीभरा ट्याक्सी काउण्टार, जिल्ला प्याब्सन, नेपाली काँग्रेस, अलैँची व्यवसायी संघ र वल्र्ड मनि ट्रान्सफरका कार्यालयमा समेत क्षति पुगेको छ ।
आगलागीको कारण खुलेको छैन । दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण आएको थियो । इमेजखबरमा समाचार छ ।