नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १०२ पुग्यो, ३१ जना निको भएर डिस्चार्ज

शुक्रबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ।
भेरी अंचल अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणका क्रममा १६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तीसहित मुलुकमा संक्रमितको संख्या १०२ पुगेको छ। सेतोपाटीमा समाचार छ । 

सुदूरपश्चिमका कोरोना संक्रमित पाँचैजना निको भएर घर फर्किए

सुदूरपश्चिमका कोरोना संक्रमित पाँचैजना निको भएर घर फर्किएका छन् । दुई महिला र तीन पुरुष सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका हुन् । 

धनगढी उपमहानगरपालिका–५, की ३४ वर्षीया दीपा शाहीलाई शुक्रबार अस्पतालले डिस्चार्ज गरेको छ । शाही उपचारपछि निको भएर सेतीबाट घर फर्कने पाँचौँ संक्रमित हुन् । प्रदेशमा अब कोरोना संक्रमणका बिरामी छैनन् । 

पछिल्लाेपटक लगातार दुईवटा थ्रोट स्वाबको नमुना जाँचमा रिपोर्ट नेगेटिभ आएपछि शाहीलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
    
शाहीलाई गत २२ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि उनमा लगातार ६ पटकसम्म गरिएको नमुना जाँचमा रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदीशप्रसाद जोशीले बताए ।


१ वैशाखयता सुदूरपश्चिममा नयाँ संक्रमित भेटिएका छैनन् । पछिल्लोपटक नयाँ वर्षको पहिलो दिन लम्की चुहा नगरपालिकाकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो । उनी वीरगन्जबाट फर्केकी थिइन् । 

भारतबाट फर्कनेको संख्या ठूलो रहेको र परीक्षण न्यून भएकाले प्रदेशमा कोरोनाको जोखिम भने कम नभएको चिकित्सकले बताएका छन् । भारत र अन्य ठाउँबाट भित्रिएकाहरूमा पनि कोरोना परीक्षण हुन सकेको छैन ।

प्रदेशभर हालसम्म १७ हजार ६ सय १४ जनामा कोरोनाको परीक्षण गरिएको छ । आरएनए किट सकिएपछि प्रदेशमा पिसिआर मेसिनबाट कोरोना परीक्षण दुई दिनदेखि बन्द भएको छ । 

प्रदेशका विभिन्न जिल्लामा संकलन गरी ल्याइएका थ्रोट स्वाबका ५५ वटा नमुना किटको अभावमा परीक्षण हुन नसकेर धनगढीस्थित क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालामा राखिएको छ ।