गृहयुद्धले थिलथिलो भएको सिरियालीमाथि कोरोना भाइरसको अर्को प्रहार

गृहयुद्धले थिलथिलो भएको सिरियालीमाथि अहिले कोरोना भाइरसको अर्को प्रहार बज्रिएको छ । देशीयबाट अन्तर्राष्ट्रिय युद्ध खेलभूमि बनेको सिरियाका लाखौंलाख नागरिकले सन्की शासकका कारण ज्यान गुमाएका छन् । 
राष्ट्रपति बसर अल असदको अधिनायकवादी शासन र उनलाई चुनौति दिन उत्रिएका विद्रोहीबीचको युद्धमा अमेरिका र रुसी स्वार्थ छिरेपछि सिरिया अहिले युद्ध मैदानमा परिणत भएको छ । लाखौं मानिस मारिएका छन् । दशौं लाख मानिसहरु विस्थापित भई संसारका अनेकन कुनामा शरणार्थीको दुःखी जीवन बिताइरहेका छन् ।
यसबीचमा थपिएको छ कोरोना भाइरसको विश्वव्यापी महामारी । असद सत्ता नियन्त्रित क्षेत्रमा ठूलो समस्या नदेखिएपनि विद्रोहीको गढ मानिएका क्षेत्रहरुमा मानिसहरु भवनहरुको भग्नावशेषका बीचमा लाइनवद्ध भएर खाना खाइरहेको दर्दनाक चित्र सार्वजनिक भएको छ ।
सिरियन गृहयुद्धमा अहिलेसम्म करिब ६ लाख मानिस मारिएको अनुमान छ । सन् २०११ मा विद्रोह शुरु भएयताको नौं वर्षमा करिब डेढ करोड मानिस शरणार्थी बन्न बाध्य पारिएका छन् ।
बहुराष्ट्रिय युद्ध मैदान बन्न पुगेको सिरियामा अमेरिका र रुस प्रमुख खेलाडी मानिए पनि फ्रान्स, बेलायत, टर्की, लेबनान, इराक, इरान, जोर्डनसमेतको चासो जोडिएको देखिन्छ । ती देशका सुरक्षाकर्मीले सिरियाली भूमिमा ज्यान गुमाएका छन् ।
युद्धले भग्नावशेष बनाएको चिहानका बीचमा खाना खादै गरेका यि दृष्यले सबैको मन हल्लाइदिन्छ । कोरोनाबाट बच्नका लागि सफाई र होशियारी उनीहरुका लागि टाढाको विषय हो । आफ्नै सरकार भाइरसभन्दा बढी खतरनाक भएको दुःखी सिरियालीहरुका लागि प्रत्येक पल मृत्युसँग साक्षात्कार गर्नुसरह हो ।
इदलिबबाहेकका अरु क्षेत्रमा असद सत्ताले नियन्त्रणमा लिएको छ भने कोरोना कहरमा इदलिबको जनजीवन दूरुह बनेको खबर आएको छ । रुस, इरानलगायतको अन्धसमर्थनमा असद सत्ताले नागरिकको आवाज मात्र दबाएको छैन, लाखौंलाख मानिसलाई चिहानमा धकेलिदिएको छ । डेढ करोड नागरिक बेघर भएर निकालिएका छन् ।
मानव जातिले ब्यहोरेको सबैभन्दा ठूलो मानवीय संकट झेलेका सिरियालीका अमेरिकी र रुसी स्वार्थको झेली खेलमा आफ्नो ज्यान गुमाउन विवश छन् ।
मुस्लिम समुदायमा यतिबेला रमादान पर्व चलिरहेको छ । यति ठूलो चाडमा पनि अलेप्पो पश्चिमको अतरेबको यो तस्वीरले बच्चादेखि ठूलासम्म एकै लाइनमा यसरी भोक मेटाउन बाध्य देखिन्छन् ।
यद्यपि विदोही नियन्त्रित क्षेत्रमा अहिलेसम्म कुनै संक्रमणको खबर नआएको जनाइएको छ । तर त्यहाँ परीक्षण नै पर्याप्त गर्न नसकिएको जनाइएको छ । सिरियामा अहिलेसम्म तीन जनाको मृत्यु र ४७ जना संक्रमित भएको दाबी गरिएको छ । एजेन्सीको सहयोगमा ।