मसालले भन्यो- कालापानी मुद्दालाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालत लैजाऊ

नेकपा मसालले भारतले कालापानी क्षेत्रमा गरेको नेपाली भूभाग अतिक्रमणको विषय अन्तर्राष्ट्रिय अदालतमा लैजान सुझाब दिएको छ ।
भारतले एउटा वक्तव्य प्रकाशित गरेर कालापानी क्षेत्र आफ्नो देशमा नै भएको दाबी गर्दै आफ्नो भूमिमा नै सडक निर्माण गरेको बताएको र त्यसले विषयको गम्भीरतालाई झन् बढाएको मसालको ठहर छ ।  
पार्टी महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति निकालेर भनेका छन्,  ‘वार्ताको ठाउँमा पुनः त्यही स्थानमा सडकको निर्माण गरेर भारतले आफ्नो साम्राज्यवादी चरित्रलाई नांगाे रूपले प्रदर्शन गरेको छ । उपरोक्त प्रकारको पृष्ठभूमिमा नेपाल सरकारले उक्त विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने तथा त्यसलाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय अदालतमा समेत लैजानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । हामीले उक्त विषयमा बारम्बार जोड दिँदै आएका छौँ । तर, सरकारले अहिलेसम्म त्यसबारे कुनै निर्णय गरेको छैन । त्यसका लागि पनि हामी सरकारको आलोचना गर्दछौँ ।’
मसालले सडक निर्माणमा नेपाल सरकारको पनि कमजोरी रहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिले हामीले उक्त विषयमा सरकारले गरेको विरोधलाई स्वागत गरे पनि त्यसबारे सरकारले देखाएको कमजोरीको पनि आलोचना नगरीकन रहन सक्दैनौँ । प्रथम, भारतले त्यो सडकको निर्माण रातारात गरेको होइन । त्यसले सडक निर्माण गरिरहँदा पनि नेपाल सरकारले त्यसको विरोध गर्ने काम किन गरेन ? द्वितीय, भारतले कालापानी क्षेत्रलाई आफ्नो भूमिमा देखाएर नक्सा प्रकाशित गर्दा पनि नेपालले अहिलेसम्म कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेतलाई नेपालमा देखाएर नक्सा प्रकाशित गर्ने काम किन गर्न सकेको छैन ? उक्त विषयहरूमा हाम्रो नेपाल सरकारप्रति गम्भीर आलोचना छ ।’ नयाँपत्रीकामा समाचार छ । 

नेपाल कम्युनिस्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय


वक्तव्य

भारतीय साम्राज्यवादले नेपालको कालापानी क्षेत्रको अतिक्रमण गरेर लिपुलेक हुँदै कैलास मानसरोबर जाने बाटोको जुन निर्माण गरेको छ, त्यसको नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित देशका सबैजसो राजनीतिक पार्टीहरूले गरेको विरोध र उक्त विषयमा प्रकट गरेको ऐक्यवद्धतालाई नेकपा (मसाल)ले स्वागत गर्दछ ।

अहिले हामीले उक्त विषयमा सरकारले गरेको विरोधलाई स्वागत गरे पनि त्यसबारे सरकारले देखाएको कमजोरीको पनि आलोचना नगरिकन रहन सक्दैनौँ । प्रथम, भारतले त्यो सडकको निर्माण रातारात गरेको होइन । त्यसले सडक निर्माण गरिरहँदा पनि नेपाल सरकारले त्यसको विरोध गर्ने काम किन गरेन ? द्वितीय, भारतले कालापानी क्षेत्रलाई आफ्नो भूमिमा देखाएर नक्सा प्रकाशित गर्दा पनि नेपालले अहिलेसम्म कालापानी, लिम्पियाधुरा र लिपुलेक समेतलाई नेपालमा देखाएर नक्सा प्रकाशित गर्ने काम किन गर्न सकेको छैन ? उक्त विषयहरूमा हाम्रो नेपाल सरकारप्रति गम्भीर आलोचना छ ।


भारतले एउटा वक्तव्य प्रकाशित गरेर कालापानी क्षेत्र आफ्नो देशमा नै भएको दावी गर्दै त्यसले आफ्नो भूमिमा नै उक्त सडकको निर्माण गरेको बताएको छ । त्यसले विषयको गम्भीरतालाई झन् बढाएको छ ।


उक्त विषयमा सचिव स्तरमा वार्ता गर्नका लागि नेपालले पठाएको पत्रलाई भारतीय पक्षले लगातार उपेक्षा गर्दै आएको छ । बार्ताको ठाउँमा पुनः त्यही स्थानमा सडकको निर्माण गरेर भारतले आफ्नो साम्राज्यवादी चरित्रलाई नाङ्गो रूपले प्रदर्शन गरेको छ । उपरोक्त प्रकारको पृष्ठभूमिमा नेपाल सरकारले उक्त विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने तथा त्यसलाई संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय अदालतमा समेत लैजानुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । हामीले उक्त विषयमा बारम्बार जोड दिंदै आएका छौँ । तर सरकारले अहिलेसम्म त्यसबारे कुनै निर्णय गरेको छैन । त्यसका लागि पनि हामीले सरकारको आलोचना गर्दछौँ ।

२०७७ वैशाख २८ गते

मोहनविक्रम सिंह
महामन्त्री