पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा वक्तव्यले मात्र काम नगरेकाले अब एक्सनमै जानुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको दाहालले सरकारले दिने चिठी नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा ठीक भए पनि एक्सन ठीक तरिकाले गर्नुपर्ने बताएका हुन् ।
समितिका अन्य सदस्यले सरकारले चिठी मात्र पठाउने तर एक्सन गर्न नसक्ने बताएपछि दाहालले पनि उक्त कुरामा आफू सहमत भएको बताएका हुन् ।
दाहालले बैठकमा भने ‘परराष्ट्र मन्त्रालयको तर्फबाट दिने भनिएको वक्तव्य मैले पनि हेरेँ र उक्त लेटर नीतिगत रुपमा सैद्धान्तिक रुपमा भावनात्मक रुपमा पनि ठीक नै छ । त्यो लेटरमा जो ओरियन्टेसन दिइएको छ त्यो ओरियन्टेसन बेठिक छैन भन्ने नै मलाई लाग्छ । तर लेटर मात्रै ठीक भएर भएन । त्यो एक्सन पनि ठिक हुनपर्यो भन्ने माननीयको भावना विलकुल सही नै छ ।’
लिपुलेक तथा जहाँजहाँको सीमामा विवाद छ त्यो विषयमा भारत र चीन दुबै देशसँग छलफल गरिएको भन्दै अध्यक्ष दहालले भारत र चीनबीचको लिपुलेक सम्झौता पछि यो समस्या भारतसँग मात्रै नभई त्रिदेशीय बनेको बताए ।
अहिले नै यो विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने भने नहुने उनले सुझाए । विषय सामान्य नभएको र भारतले पटक पटक नक्शा प्रकाशित गर्दा लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्शामा पारेको विषय गम्भीर हो उनले भने ।
कालापानीमा ६०/६५ वर्ष पहिलेदेखि भारतीय सेना बसिराखेको तर गम्भिरतापूर्वक समाधान नखोजिएकामा विश्लेषण गर्नुपर्ने उनको भनाइ थियो । उनले पञ्चायतदेखि अहिलेको सरकारसम्मले के गरे भन्ने समीक्षा गर्न माग पनि गरे ।
-रासस /एजेन्सी