महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा भीमदत्त नगर समितिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा राजमोका जिल्ला सहसचिव लालबहादुर कुँवरसहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको राजमो कञ्चनपुरले जनाएको छ ।
लिपुलेकमा भारतले अतिक्रमण गरी सडक बनाएको विरोधमा मोदीको पुत्ला बनाएर महेन्द्रनगर बजार तर्फ लैजाने तयारी गरिरहेका बेला राजमोको पार्टी कार्यलयबाटै प्रहरीले नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।
जिल्ला सह सचिव कुँवरसहित राजमो भीमदत्त नगर समिति सल्लाहाकार शशी घर्तिमगर, नगर समितिका सदस्यद्वय अर्जुन कामी र सुरेश सुनाललाई अभद्र व्यवहार गरी पक्राउ गरिएको राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो । गिरफ्तार नेता कार्यकर्तालाई प्रहरीले सोमबार अपरान्ह रिहा गरेको छ ।
सोमबार विज्ञप्ति प्रकाशित गरी राजमोले पार्टी कार्यालयबाटै नेता तथा कार्यकर्ताहरुमाथि गरेको धरपकडको निन्दा गरेको छ । प्रहरी हिरासतबाट रिहा भएपछि युगदर्शनलाई प्रतिक्रिया दिँदै राजमो जिल्ला सहसचिव कुँवरले गिरफ्तार सबैको मोबाइल खोसेर प्रहरीले फोटो तथा भिडियो डिलिट गरिदिएको बताउनुभएको छ ।
लिपुलेकमा भारतले गरेको हस्तक्षेपविरुद्ध राजमोले देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ । सोमबार नै कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा पनि मोदीको पुत्ला दहन गरिएको छ ।
पुत्ला दहनपछि आयोजित कार्यक्रमलाई तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी र मोर्चाका जिल्ला अध्यक्ष रंगबहादुर चौधरीले सम्बोधन गर्नुभएको छ ।