रुवाण्डा नरसंहारका आरोपी फेलिसियन २६ वर्षपछि फ्रान्समा समातिए

रुवाण्डा नरसंहारका आरोपी फेलिसियन काबुगा झन्डै २६ वर्षपछि फ्रान्समा समातिएका छन् ।
सन् १९९४ मा ८ लाख बढी मानिसको हत्या भएको उक्त नरसंहारका आरोपी काबुगालाई पक्राउ गरिएको फ्रान्सको न्याय मन्त्रालयले जनाएको हो । नरसंहारका लागि सैनिकलाई आर्थिक सहयोग गरेको अभियोग काबुगामाथि लागेको छ ।
सर्वाधिक खोजीमा रहेका काबुगाको अमेरिकाले टाउकोको मोल ५ मिलियन अमेरिकी डलर तोकेको थियो । ८४ वर्षीय काबुगा झूठो पहिचानसहित एस्नेरस सुर सेनको एक फ्ल्याटमा बसिरहेका समयमा पक्राउ परेका हुन् । उनी जर्मनी, बेल्जियम, कंगो, केन्या वा स्विजरल्याण्डमा बस्दै आएको जनाइएको छ ।
काबुगामाथि सन् १९९७ मा नरसंहार गरेको तथा नरसंहार गराउन उक्साउने काम गरेको लगायतका सात आपराधिक अभियोग लगाइएको थियो । रुवाण्डाको दुई मुख्य जातीय समूह हुत्सु र तुत्सीबीच १९९० मा गृहयुद्ध शुरु भएको थियो । हुत्सु समुदायका व्यापारी काबुगामाथि सन् १९९४ मा तुत्सीको हत्या गराउन आर्थिक सहयोग गरेको आरोप छ ।
फलेसियन काबुगाको गिरफ्तारी नरसंहारका लागि जिम्मेवार अपराधीलाई छब्बीस बर्ष पछि पनि पक्राउ गर्न सकिन्छ भन्ने सूचक भएको आईआरएमसीटीका प्रमुख अभियोजक सर्ज ब्रामत्जले जनाएका छन् ।
ह्यूमन राइट्स वाचका अफ्रिकन निर्देशक मौसी सेगुनले काबुगाको गिरफ्तारी हजारौं नरसंहार पीडितका लागि न्यायको दिशामा महत्वपूर्ण पाइला भएको र अपराधीहरु आफ्नो अपराधबाट उम्कन पाउने छैनन् भन्ने दृष्टान्त भएको बताएका छन् ।
काबुगाको गिरफ्तारी फ्रान्सको कानून प्रवर्तन एजेन्सीहरू र अमेरिका, रुवाण्डा, बेल्जियम, बेलायत, जर्मनी, नेदरल्याण्ड लगायतका अन्य देशहरूबीचको सहकार्यमा सम्भव भएको पनि जनाइएको छ । एजेन्सी