ऋषि विश्वकर्मा
सिमलपानी, अर्घाखाँची । आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसक्ने गरिब, विपन्न, दलित, अपाङ्ग, आगलागी पिडित नागरिकको सपना पुरा गर्न शितगंगा नगरपालिकाले जस्तापाता वितरण कार्यक्रम अगाडी बढाएको छ । शितगंगा नगपालिकाको खरको छाना मुक्त गर्ने कार्यक्रम अन्तर्गत आज आईतबार वडा नं. १३ सिमलपानीमा जस्तापाता वितरण गरिएको हो ।
शितगंगा नगरपालिका वडा नं. १३ का अध्यक्ष दुर्गा विसीको अध्यक्षतामा गरिब, विपन्न, दलित, अपाङ्ग मध्येका ५६ घर परिवारलाई २५ पाताका दरले जस्तापाता वितरण गरिएको छ ।
जस्तापाता पाए पछि स्थानियहरुले आफुहरुको साथमा सरकार भएको अनुभव गरे । टिनको छाना मुनी बस्ने सपना पुरा भएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका छ्न ।
नगरपालिकाले खरको छाना मुक्त नगर बनाउने कार्यक्रम अन्तर्गत यस आर्थिक वर्ष ०७६/७७ मा ७ सय ८४ विपन्न घरपरिवारलाई क्रमश जस्तापाता वितरण कार्य सुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमलले रातोप्रेस डट कमलाई जानकारी दिए । खरको छानोमा आगलागीको सम्भावना बढी हुने भएकाले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता वितरण गरिएको उनको भनाई छ ।
शितगंगा नगरपालिकाको प्रत्येक वडाका ५६ घर परिवारले २५ वटाका दरले जस्तापाता पाउने भएका हुन् । नगरले प्रत्येक वडामा खरले छाएका घरको छाना हटाई जस्तापाता वितरण गर्न वडा मार्फत तथ्याङ्क सङ्कलन गरि त्यस्ता घरलाई जस्तापाताले छाउन पहल गरिएको नगरपालिकाले जनाएको छ । ५ वर्ष भित्र नगरपालिकालाई खरको छाना मुक्त गर्ने लक्ष्य रहेको छ ।
वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेश ५ का सांसद रामजी प्रसाद घिमिरे, विशिष्ट अतिथिमा शितगंगा नगरप्रमुख सूर्य प्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी लगाएतको उपस्थिती रहेको थियो ।