माधव प्रसाद बेल्बासे
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ११ सिद्धारामा हाल सम्म भारतबाट आउनेको संख्या ३२ जना पुगेको छ । हिजो मात्रै ३१ जनालाई कृष्णनगरबाट उद्धार गरी ल्याईएको थियो । ति सबैलाई वडाले निर्माण गरेका क्वारेन्टाइनमा व्यवस्थापन गरिएको छ।
शितगंगा नगरपालिकाका जनप्रतिनिधीको टोली कृष्णनगर र सुनौली नाकामा पुगेर अलपत्र नागरिकको उद्धार गरिएको छ । उक्त टिममा वडा अध्यक्ष कपिल आले समेत सहभागी भई आफ्नो वडाका नागरिकलाई वडासम्म ल्याउन पहल गरे ।
उद्धार गरिएका सबै जनालाई वडा नं. ११ को शम्भु आधारभूत विद्यालय खयरभट्टीमा २३ जना, धर्मोदय आधारभूत विद्यालय ढुङ्गेसेरामा ६ जना र रुद्रवेनी आधारभूत विद्यालय मौवावारीमा ३ जना गरी ३२ जनालाई क्वारेन्टाईनमा राखिएको वडा अध्यक्ष कपिल आलेले रातोप्रेस डटकमलाई बताए।
भारतबाट आउने क्रम जारी भएसंगै थप क्वारेन्टाईनको व्यवस्थापनमा वडा कार्यालय अगाडी बढेको अध्यक्ष आलेले बताए ।
वडा अध्यक्ष आलेले अलपत्र वडाका नागरिकलाई आफ्नो मोबाइल नं. ९८५७०६९४११ मा सम्पर्क गरी आफ्नो अवस्थाका बारेमा जानकारी गराउन समेत अनुरोध गरेका छन ।