कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भइ घर फिर्ता भए

कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भइ घर फिर्ता भएका छन् ।
कपिलवस्तु अस्पतालमा कार्यरत् नर्स कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएको जनाउँदै सोमबार घर फिर्ता भएपछि जिल्लामा कोरोनाभाइरसलाई जितेर घर जानेको संख्या बढेको छ ।
गत वैशाख ३० गते पहिलोपटकको रिपोर्टमा ‘पोजिटिभ’ आएपछि नर्सलाई  अस्पतालको ‘आइसोलेसन’मा राखिएको थियो ।
कपिलवस्तु नगरपालिका तौलिहवा निवासी २५ वर्षीया नर्सलाई घर पठाइएको हो ।
नर्स संक्रमित भएपछि अस्पतालका कर्मचारी र परिवारसहित ११० को ‘पीसीआर’ जाँच गर्दा ‘नेगेटिभ’ आएको थियो ।
नर्सको क्रमशः दोस्रो र तेस्रोपटक यही जेठ १ र ४ गते दुईपटक जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
नेपालमै पहिलो स्वास्थ्यकर्मी संक्रमित भएर १४ दिनमै कोरोनालाई जित्न सफल भएको अस्पतालका डा. किशोर बञ्जाडेले बताए ।
उनलाई थप एक साता ‘होम क्वारेन्टाइन’मा बस्न सुझाव दिइएको छ ।
शनिबार कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका तीन/तीन र बुद्धभूमि नगरपालिकाका एकजनालाई बुटवलको कोरोना विशेष अस्पतालबाट घर पठाइएको थियो ।
कपिलवस्तुमा सोमबारसम्म ८३ कोरोना संक्रमण देखिएको छ । रासस