अर्घाखाँचीडट्कम संवाददाता
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीकाे कमला माध्यमिक विद्यालय क्वारेन्टाइनमा २ जनामा काेराना पाेजिटिभ देखिएपछि यहाँ सिल गरिने भएको छ ।
पीसीआर परिक्षणमा १९ र ४३ बर्षका दुई पुरुषमा पाेजिटिभ देखिएपछि पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीलाई पूर्ण रुपमा सिल गर्ने तयारी भएको स्रोतले बताएको छ । यहाँ पूर्ण रुपमा आवतजावत बन्द गरिनेछ ।
अर्घाखाँची जिल्लामा यसअघि नै सिल गरिएपनि गाउँ – गाउँमा चहलपहल आवतजावत जारी छ ।
उता आज सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परिक्षणमा १९ र ४३ बर्षका दुई पुरुषमा पीसीआर परीक्षण पाेजिटिभ देखिएकपछि अर्घाखाँचीमा त्रास बढेको छ ।
पालीकाे कमला मावि क्वारेन्टाइनमा रहेकाहरुको नमूना स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएकोमा २ जनामा काेराना पाेजिटिभ आएको हो ।
उनिहरू दुबै जना जेठ २ गते भारतबाट आएका थिए । उनिहरूको जेठ ९ गते पिसीआर जाँचका लागी स्वाव परिक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको थियो । उनिहरू सगै क्वारेन्टाइनमा बसेका अन्य ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै दुबैजनाको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उनिहरूलाई आईसाेलेशन कक्षमा राखेर उपचार गर्न अर्घाखाँची अस्पताल सन्धिखर्क ल्याईएको छ । अर्घाखाँची जिल्लामा पहिलोपटक कोराना संक्रमण देखिएको हो ।
पाणिनी गाउँपालिकामा १५०० शैयाको क्वारेन्टाइन निर्माण भएको छ । भारतबाट आएका १२५ जना क्वारेन्टाइनमा रहेका छन् । २ जना बाहेक अहिलेसम्म पिसिआर परिक्षण ८ जना, आरडिटी परिक्षण १२ जनाको गरीएको र सबैको नेगेटिभ आएको परिक्षण गरेकाहरु २० जनालाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ ।
अब भारतबाट १ हजार जति पाणिनीबासीलाई ल्याउने पहल गरीएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।