भुमिकास्थान धनचौरमा श्री समावेशी महिला बिकास सहकारीद्वारा कृषि सामाग्री र राहत वितरण (फोटो सहित)

 
सन्तोष कुमार के. सी 
धन्चौर,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं १० धनचौर स्थित श्री समावेशी महिला बिकास सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मकै पकेट परियोजनाका लागी आवश्यक कृषि सामग्री स्थानीय कृषकलाई वितरण गरेको छ।
संस्थाको अध्यक्ष राधिका गैरेको सभापतित्व र तुलसा गैरेको सञ्चालनमा सम्पन्न  सो संस्थाद्वारा सञ्चालित मकै पकेट क्षेत्र परियोजनाका लागी आवश्यक कृषि  सामाग्री वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला कृषि ज्ञान केन्द्र अर्घाखाचीको ५० प्रतिशत अनुदानमा स्थानिय कृषकलाई आवश्यक कृषि  सामाग्री सो वार्डका वार्ड सदस्य टामलाल भट्टराईले हस्तांतरण गर्नु भएको थियो । 
भुमिका स्थान नगरपालिका वार्ड नं १० का बिभिन्न २०० जना कृषक लाभान्वित हुने गरी यस सहकारी संस्था अन्तर्गत रहेका ५ वटा समुहलाई  मिनि टेलर, ६ वटा समुहलाई कन्सलर मेसिन र कोदालो, फरेवा र त्रिपाल जस्ता कृषि सामाग्री वितरण गरिएकोको कुरा सो संस्थाको अध्यक्ष राधिका गैरेले जानकारी दिनुभयो। 
साथै यस संस्थाले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै वार्डका अति बिपन्न २ परिवारलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा दाल, चामल, नुन राहत पनि सोही कार्यक्रममा वितरण गरेको छ।