अर्घाखाँचीडट्कम संवादाता
जलुके, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा न ७ जलुकेमा रहेका विद्यालयको क्वारेन्टाईनमा बसेका व्यक्तिहरुलाई युवा नेता ओपी पाण्डेले आफ्नो जन्मदिनको अवसरमा खाजा नास्ता खुवाएका छन ।
नेता पाण्डेले आफ्नो जन्मदिनको अवसरमा शितगंगा न.पा. ७ का विद्यालयमा रहेका नागरिकलाई खाजा नास्ता खुवाएका हुन । केही दिन अघि क्वारेन्टाईनमा १ सय ४० भन्दा बढी नागरिक भारतको सिमा हुँदै आएका थिए ।
खाजा नास्ता स्थानिय नेता देविराम घिमिरे मार्फत क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरण गरिएको थियो । घिमिरेले प्रत्येक विद्यालयमा रहेको क्वारेन्टाईनमा गई चिउरा, भुजा, च्याउच्याऊ, विस्कुट वितरण गरेको रातोप्रेस डटकमलाई जानकारी प्राप्त भएको छ ।
स्थानिय नेता देविराम घिमिरे मार्फत वितरण गरिदै पाण्डेले जन्म दिनको अवसरमा सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । जन्मदिन वा कुनै उत्सव मनाउदा अनावश्यक खर्च नगरी सामाजिक कार्यमा लगानी गर्न सबैलाई आग्रह समेत गरे ।
वडा नं. ७ का वडा अध्यक्ष मोहन पन्थीले जन्मदिनमा केक काट्ने र रमाईलो गर्नुका सट्टा समाजसेवामा उक्त रकम खर्च गरेकोमा धन्यवाद दिएका छन । विश्वव्यापी रुपमा रहेको कोरोना भाईरसको महामारीका समयमा यसरी वडासँग समन्वय गरेर सहयोग गरेको भन्दै सबैका लागि अनुसरणिय कार्य भएको समेत उल्लेख गरे ।
जन्म दिनको अवसरमा उदाहरणिय कार्य गरेकोमा नेकपाले प्रशंसा गरेको छ । सबै नेता कार्यकर्ताले यस कार्यलाई अनुसरण गरि विश्व व्यापी संकटको समनामा सहयोग गर्न आग्रह गरेको छ ।
सेवा नै धर्म हो भन्ने मुल नारा आत्मसाथ गर्ने उनले सामाजिक क्षेत्रमा पटक पटक सहयोग गर्दै आएका छ्न ।
ओपी पाण्डे जनयुद्ध एवं दोस्रो जन अन्दोलनका एक योद्धा हुन्। उनी आफ्नो विद्यार्थी जिवनबाट नै राजनैतिक क्षेत्रमा लागेका थिए । वि.सं. २०४४ सालमा तत्कालिन अनेरास्ववियु एकता (पाँचौ) हुदैं राजनीतिमा प्रवेश गरेका उनी वि.स. २०४९ सालमा नेकपा एकता केन्द्रको पार्टी सदस्य भए । त्यस पश्चात पूर्नः गठित नेकपा माओवादीमा सकृय रुपमा जनयुद्धमा सामेल भई प्राविधिक क्षेत्रमा जिम्मेवारी बहन गर्दै आफ्नो राजनितिलाई अगाडी बढाए । त्यस बखत भारत प्रवासमा रहेको संगठन अखिल भारत नेपाली एकता समाजको केन्द्रिय सदस्यको जिम्मेवारी सम्हालेका थिए । पछि माओवादी केन्द्रको जिल्ला, प्रदेश हुंदै महाधिवेशन कमिटीका केन्द्रिय सदस्य समेत भए ।
पूर्व नेकपा र माओवादी केन्द्रको एकता पश्चात बनेको नेकपाको जिल्ला कमिटीको सदस्यको जिम्मेवारी सम्हाल्दै आएका एक उनी राजनैतिक क्षेत्रका भरोसा हुन् । उनी कहिल्यै पद प्रतिष्ठाको लागि मरिहत्ते नगर्ने स्वभावका एक नेता हुन् ।