विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीको मृत्यु र संक्रमणको दरमा उल्लेख्य रुपमा कमी आएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता विदेशमा ६ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ भने ५ हजार ५ सय ९० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर गत साताभन्दा ७५ प्रतिशतले कमी हो ।
गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सो साता कतारमा ४ जना, कुवेतमा १ जना, युकेमा १ जना गरि ६ जनाले कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । संघको पछिल्लो तथ्यांक अनुसार विभिन्न विदेशमा १ सय २५ जना गैरआवासीय नेपालीको कोरोनाका कारणले निधन भएको छ ।
संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विश्वका ३४ देशमा रहेका नेपाली कोरोना भाइरसबाट प्रभावित भएका छन । १३ देशमा रहेका नेपालीको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।
संयोजक डा. सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा कोरोना संक्रमण भएको छ । समितिका अनुसार नेपालमा कोरोना संक्रमणको संख्या ३ हजार २ सय ३३ जना रहेका छन् भने १३ जनाको कोरोनाबाटै मृत्यु भएको छ ।
यसैबीच, सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन गरेको निर्णयको गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु गरेकामा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताएका हुन् ।
सरकारले लकडाउन भएको ७४ दिनपछि पहिलो पटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ । विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीको फिर्ती प्रक्रियालार्ई व्यवहारिक बनाउन पनि संघले सरकारसँग आग्रह गरेको छ ।
यस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले विदेशमै पीसीआर टेष्टको सम्भावना न्यून रहेकाले भारत सरकारले जस्तै सामान्य स्वास्थ्य सर्टिफिकटले नेपाल जान पाउने गरी बाटो खोल्नुपर्ने बताए । संघले विदेशमा रहेका शव नेपाल फर्काउन र आफैँ पैसा तिरेर जान नसक्ने नेपालीका लागि आवश्यक सहयोग गर्न सरकारसँग आग्रह गर्ने जनाएको छ। –एजेन्सी