शितगंगाको ठाडामा रुकुम चौर जहारीको घटनाका दोषीमाथी कार्वाहिको माग गर्दै बिरोध

२४ जेष्ठ २०७७ शनिबार  
बिष्णु कुमार आले
ठाडा, अर्घाखाँची (२४ जेष्ठ २०७७ शनिबार) । रुकुम चौर जहारीको घटनाका दोषीमाथी कार्वाहिको माग गर्दै अर्घाखाँचीमा पनि बिरोध जनाईएको छ । विरोधमा शितगंगाका दलित अधिकारकर्मी शीतगंगा दलित एकता समाज अर्घाखाँचीले रुकुम चौरजहारीमा भएको जातीय नरसंहार र दैशैभर दलित समुदायमाथि भएको उत्पीडन अन्त्यको माग गर्दै अर्घाखाँचीको शीतगंगामा विरोध प्रदर्शन गरिएको थियो ।
उक्त विरोध सभालाई सम्बोधन गर्दै शीतगंगाका दलित अधिकारकर्मीहरुले अन्तरजातीय प्रेम गरेकै कारण जाजरकोटका नवराज सुनार र उनका साथीहरुको हत्या भएको लामो समयसम्म पनि प्रशासनले कारवाही गर्ने भरपर्दो तथ्य वाहिर ल्याउन नसकेको प्रति बिरोध जनाउँदै हत्यारा पत्ता लगाई कानुनी कठ्घरामा उभ्याउन उनीहरूले माग समेत गरेका छन् ।
उनीहरूले दलित समुदायमाथि भएको विभेद विरुद्ध आफूहरु सडक संघर्षमा उत्रेको बताउँदै सरकारले दोषीलाई छानविन गरि कडा कारवाही नगर्दासम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । उक्त अवसरमा जिल्ला समन्वय समिति सदश्य बलेन्द्र विश्वकर्मा, शीतगंगा नगर कार्य समिति सदस्य बिष्णु परियार, राम बहादुर दर्नालले प्रेम गरेकै कारण दलित यूवाको हत्या हुँदा पनि सरकारले गम्भिर रुपमा नलिएको आरोप लगाए ।
उक्त विरोधसभामा शीतगंगा वडा नम्बर २ कि दलित महिला सदस्य पार्वता वि.क. वडा नम्बर ४ कि महिला सदश्य लक्ष्मी सुनार, कृष्णा कुमार गहतराज, दिपेन्द्र रसाइली, सरोज परियार लगायतले बोल्दै जातीय विभेदको मुद्धा सबैको साझा समस्या भएकाले गैरदलितहरुको पनि साथ रहनुपर्ने बताए ।
प्लेकार्ड सहित सडकमा उत्रिएका नागरिकले जातीय छुवाछुत उन्मूलन दिवसको कुनै अर्थ नरहेको भन्दै सरकारले आफैले बनाएको कानुन कार्यान्वयन गर्न नसकेकोमा आपत्ति जनाए ।
प्रदर्शनमा रुकुम चौरजहारी र रुपन्देही देवदहमा भएको हत्यामा संलग्नलाई कानुन अनुसार कारवाहीको माग गरिएको छ । आन्दोलनलाई अझ ससक्त रुपमा अगाडि बढाउन गोविन्द रसाइलीको संयोजकत्मा ९ सदस्यीय संघर्ष समिति गठन समेत गरिएको छ । कार्यक्रम शिवकला वि.क.को अध्यक्षता र गोविन्द रसाइलीको संचालनमा संपन्न भएको थियो ।
मानवअधिकार–पत्रकार टोलीद्धारा स्थलगत अनुगमन शुरु
पचिश्म रुकुमको चौरजहारीमा भएको घटनाका बिषयमा मानवअधिकार तथा पत्रकारहरुको टोलीले प्रारम्भिक जानकारी लिन शुरु गरेको छ ।
मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा मानव अधिकार र पत्रकारहरुको टोली शुक्रबार रुकुम र जाजरकोटको स्थलगत अध्ययन अनुगमनमा निस्केको हो ।
शनिबार जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी प्रमुख डिएसपि ठग बहादुर केसीसँग घटनाका बारेमा जानकारी लिएको छ ।
डिएसपि केसीले चौरजहारी घटनाको आरोपी २५ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । अझै दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको समेत टोलीलाई उनले जानकारी दिए । घटना निकै संवेदनशिल भएकाले यससँग सम्बन्धित सबै पक्ष र निकायहरुसँग भेट गरि गहन अध्ययन र अनुगमन पश्चात नागरिक स्तरको प्रतिवेदन प्रस्तुत गरिने मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले बताईन् । टोलीले हिरासतमा रहेका आरोपितहरुलाई समेत भेटघाट गरिएको छ ।
संविधानसभा सदस्य विनोद पहाडी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, अधिवक्ता शिव गौडेल, पत्रकारहरु माधव नेपाल, विनोद परियार लगायतको समुहको टोलीले घटनाको अनुसन्धान सुरू गरेका हुन् ।
शनिबार नै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीय नागरिक समाजसँग समेत भेटघाट गरिए थियो ।
टोली घटनास्थल चौरजहारी वडा न. ८ र पिडितपक्षसँग भेट्न जाजरकोट जाने तयारीमा रहेको बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले जानकारी दिए ।
घटना चिस्सिदै गएको भन्दै छिटोभन्दा छिटो दोषीमाथी कार्वाही गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।

अन्य समाचारहरु