न्यूयोर्क (अमेरिका) । कोरोना भाइरसको महामारीका कारण यस वर्ष करीब ५ करोड मानिस चरम गरीबीको रेखामुनि आउने बताइएको छ ।
संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेर्रेसले यस्तो चेतावनी दिएका हुन् । उनका अनुसार यस वर्ष थप ४ करोड ९० लाख मानिस चरम गरीबीको रेखामुनि धकेलिनेछन् ।
विश्वको कुल गाहस्थ्य उत्पादन (जीडीपी)मा आउने हरेक आधार विन्दुको कमीको अर्थ अतिरिक्त दशौं हजार मानिसहरु पछाडि पर्ने समेत उनले बताएका छन् ।
तत्कालै उपयुक्त कदम चालिएन भने विश्वमा खाद्य आपतकाल आउने सम्भावना स्पष्ट रुपमा बढ्दै गएको र यसले करोडौं बालबालिका र वयस्क प्रभावित हुने समेत बताइएको छ ।
‘संसारमा ७ अर्ब ८० करोड जनसंख्यालाई खान पुग्ने भन्दा धेरै खाद्यान्न छ । तर अहिले ८२ करोड भन्दा धेरै मानिसहरु भोका छन् । विश्वभर हरेक ५ मा १ जना भन्दा धेरै ५ वर्षभन्दा मुनिका अर्थात् १४ करोड ४० लाख बालबालिकाहरु कुपोषित छन् ।
हाम्रो खाद्य प्रणाली असफल भइरहेको छ, र कोभिड–१९ को महामारीले अवस्था झनै खराब बनाइरहेको छ,’ खाद्य सुरक्षा सम्बन्धी नयाँ नीतिबारे जानकारी दिन आयोजित कार्यक्रममा गुटेर्रेसले भने ।
‘यस वर्षको कोभिड–१९ संकटका कारण झण्डै ४ करोड ९० लाख मानिस चरम गरिबीमा धकेलिनेछन्,’ उनले भने । खान नपाउने मानिसको संख्या तीव्र गतिमा बढिरहेको र विश्वको जीडीपीमा हरेक एक आधार बिन्दुमा आउने कमीले अतिरिक्त ७ लाख बालबालिकाहरु खाद्यान्न अभाव र कुपोषणको शिकार हुने समेत उनले बताए ।
पर्याप्त खाद्यान्न भएकै देशमा समेत खाद्य आपूर्ति शृङ्खलामा अवरोध उत्पन्न हुने जोखिम रहेको गुटेर्रेसले चेतावनी दिएका छन् ।- एजेन्सी