काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको दोस्रो दिनको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति बिना सम्पन्न भएको छ ।
गत बुधबार बसेको वैठकमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्तव्य राखेपछि अर्को बैठक शुक्रबारका लागि बोलाइएको थियो ।
बुधबारको बैठकका लागि ७ वटा एजेण्डा गरिएको थियो ।
शुक्रबारको बैठकको अध्यक्षता पुष्पकमल दाहालले गरेपनि अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा लिइएको छ भने त्यसले स्थायी समिति सदस्यहरुबीच नै शंकाको वातावरण बनाएको छ ।
बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले आफू विरुद्ध घेराबन्दी गरिएको गुनासो गर्नुभएको थियो ।
स्थायी समिति सदस्यहरुको आलोचनाबाट बच्नका लागि ओली बैठकमा अनुपस्थित भएको हुनसक्ने आशंका सदस्यहरुले गरेका छन् ।
शुक्रबारको बैठकमा बोल्दै पर्यटन मन्त्री योगेश भट्टराईले बैठकमा प्रधानमन्त्रीको उपस्थिति आवश्यक नपर्ने तर्क गर्दै बैठकका प्रत्येक विषयको रिर्पोटिङ प्रधानमन्त्रीलाई भइरहेको बताउनुभयो ।
शुक्रबारको बैठकको सुरुमै बोलेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सीमा विवाद समाधानका लागि भइरहेका प्रयासबारे जानकारी गराउनु भएको थियो ।
मन्त्री ज्ञवालीले नोभेम्बर, डिसेम्बर र जनवरीमा गरी तीन पटक भारतलाई पत्र पठाउँदा पनि भारतले चासो नदिएको ब्रिफिङ गर्नुभएको भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा प्रदीप ज्ञवाली, लिलामणि पोखरेल, मात्रिका यादव, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृत बोहरा, पम्फा भुसालसहितका १८ सदस्यले भारतसंगको सीमा विवाद लगायतका विषयमा धारणा राखेका थिए ।
सदस्यहरूले लिम्पियाधुरासहितको नक्सा जारी हुनु ऐतिहासिक काम भएको भन्दै सुस्ता क्षेत्रको सीमा विवाद पनि हल गर्नुपर्ने सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
उहाँले चीनले पनि केही नेपाली भूमि अतिक्रमण भएको भन्ने कुरा झुठो, नियोजित र भ्रामक प्रचार भएको र चीनसँग कुनै सीमा समस्या नभएको जिकीर गर्नुभयो ।
स्थायी समितिको अर्को बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने छ । इमेजले उल्लेख गरेको छ।