छत्रदेव गाँउपालीकामा बाँदर धपाउन यन्त्र गनको प्रयोग

बिष्णु कुमार आले
बल्कोट,  अर्घाखाँची २०७७-३-१६ गते । खेतबारीमा लगाएको मकैबालीमा बादरले सताएपछि अर्घाखाँचीको छत्रदेव गाँउपालीकामा बादर धपाउने यन्त्र गनको प्रयोग गर्न थालिएको छ । बर्षेनी किसानको खेतबारीमा लगाएको तरकारी तथा मकैबालीमा बाँदरले नोक्सान गरेपछि ठुलो आवाजमा पड्काएर बाँदर धपाउने उपाय खोजिएको हो ।
किसानको गुनासो
गाँउपालीकाको सबै वडाका किसानले बर्षेनी बादरले मकै बाली नष्ट गरेपछि हैरानी खेप्दै आएका यहाँका किसानले बाँदर धपाउने उपाय खोजिदिन गाँउपालीकालाई अनुरोध गरेपछि पालीकाले यस्तो बिधी अपनाएको हो ।
बर्षेनी पालीकाको धारीचौर, काभ्रे, खुसीनडाँडा, अर्बुन, पाटी,झीरबाँस,रानीपोख्ररा,बल्कोट गाउँमा बाँदरले किसानलाई सताउदै आएको छ । बर्षेनी बाँदरले खेतबारीमा लगाएको तरकारी अन्नबालीमा नोक्सान गर्दा बाँदर धपाउने उपाय खोजिदिन आग्रह गरेपछि गाँउपालीकाले ठुलो आवाज पड्काउने गन दिने भनेको छ ,तर हामीले अझै पाउन नसकिएको झिरबाँसका किसान राम प्रसाद भुषालले बताए । उनले भने, बिहान देखि बेलुका सम्म टोलका ४० कुरियाका सबैले खेतबारीमा मकै छोपेरै बस्नु पर्छ तर यस अघि देखि वडा कार्यालय र पालीकालाई हार गुहार गरेका थियौं तर सुनुवाई भएको थिएन । उनि भन्छन् , अहिले पनि म बारिमै बाँदर धपाईरहेको छु । बढेको बन जङगलले गर्दा बारि नजिकै जङगलमा ठुलो हुलमा बाँदर बस्ने गर्छ । बिहान उज्यालो नहुदै बारीमा आएर बाँदरले मकै खाने गरेको उनले दुखेसो पोखे । खान मिल्ने मकै खाने, खान तयार नभएका मकैको घुँगा नै भाचेर बाँदरले नष्ट गर्ने गरेको अर्का किसान रेमलाल अधिकारीले बताए ।
गाँउपालीकाको बाँदर धपाउने उपाय
जनताको मागलाई संबोधन गर्दै गाँउ पालीकाको १ देखी ८ वडा सम्म प्रत्येक वडामा ५ अोटाका दरले किसानलाई बाँदर धपाउने यन्त्र (गन) बितरण गरिएको गाँउ पालीकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । उनले भने, स्याङ्जाको हेलुबाट ल्याएर ४० थान यन्त्र (गन) किसानलाई बितरण गरेका छौं ,यसबाट ठुलो आवाज आउने र प्रयोग गरेर पड्काउन सकेमा बाँदर धपाउन कुनै गाह्राे हुने छैन । यन्त्र (गन) भित्र मकैका दाना जति ४ दाना कार्वन राखेर दुई बिर्का पानी हालेर सात मिनेट सम्म मज्जाले हल्लाएर घोल्ने र ग्यास लाईटरको सहायतामा पड्काउनु पर्छ । यन्त्रबाट निस्किएको आवाजले तर्सिएर खेतबारीमा आएको बाँदर धपाउन सकिने गाँउपालीकाले जनाएको छ । धेरै खर्चिलो पनि नहुने र सजिलो उपाय पनि भएकाले यो बिधि अपनाएको अध्यक्ष पोख्रेलले बताए । प्रति गन २६ सय ५० मा खरिद गरिएको र कार्वन र ढुवानी गर्दा प्रति गनमा तिन हजार लगानी भएको गाँउपालीकाले जनाएको छ ।
जिल्लाका अन्य भुमिकास्थान नगरपालीका, सन्धिखर्क नगरपालीका, शितगंगा नगरपालीका, मालारानी र पाणिनी गाँउपालीकाका बिभिन्न गाँउ टोलमा पनि किसानलाई बर्सेनी बाँदरले सताउने गरेको छ । शितगंगाको ठाडा सितापुर सुवर्णखाल, जुकेना , जलुके, सिद्धारा, सिमलपानी लगायतका गाँउमा बर्षेनी बाँदर , बदेलले तरकारी र अन्नबालीमा नोक्सान गरेपछि नियन्त्रणको उपाय खोजिदिन नगरपालीकामा आग्रह गरेपनि कुनै सुनुवाई हुन सकेको छैन । यहाँका किसान भन्छन् ,बाँदर धपाउन नगरपालीकालाई केहि जुक्ति निकाल्न अनुरोध गरेपनि चासो नदेखाउदा बर्षेनी मकैबालीमा नोक्सानी व्यहोर्नुपरेको छ । जिल्लामा पहिलो पटक छत्रदेव गाँउपालीकाले बाँदर धपाउने यन्त्र (गन) प्रयोगमा ल्याएको हो ।

अन्य समाचारहरु