केशब घिमिरे / अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची । ‘सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने मूल नारा साथ अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।
नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा खाँचीकोटका ३० जनाले रोजगारी पाएका छन् ।
खाँचीकोट वार्ड कार्यालयका अनुसार न्यूनतम रोजगारीमा संलग्न हुनका लागि निवेदन दिएका मथ्ये ३० जना छानिएका छन् । उनिहरुलाई बाटो, खोला सिँचाइ कुलो निर्माण योजनामा खटाइने छ । रोजगारमा खटिनेलाई दैनिक करसहित रु ६२५ प्रदान गरिने छ ।
उता खाँचीकोट वार्ड कार्यालयले वास्तविक अति विपन्न तथा परिवारलाई रोजगार कार्यक्रममा प्राथमिकता नदिइएको, सूचीकृत नगरिएको भन्दै विरोध भएको छ । यहाँ राजनीतिक दलका स्थानिय नेताको मिलोमतोमा आफ्ना मान्छेलाई सूचीकृत गरेको बताइएको छ ।