नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या १६,७१९, मृतकको संख्या ३८, डिस्चार्ज ८,४४२ जना

काठमाडौं, असार २७ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट थप तीनजनाको मृत्यु भएको जानकारी दिनुभएको हो ।
उहाँकाअनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१०, शंखमूलका ६० वर्षीय एक पुरुष, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ४५ वर्षीय एक पुरुष र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय एकजना पुरुष रहेका छन् ।
शंखमूलका पुरुषको असार २६ गते मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।
फोक्सोमा पानी जमेको र मिर्गौला रोगका बिरामी ती पुरुषलाई असार १६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना परीक्षणमा ‘रिपोर्ट पोजिटिभ’ आएको थियो ।
सिन्धुपाल्चोकका पुरुषको असार २५ गते मृत्यु भएको हो । क्षयरोगको उपचारका लागि असार १८ गते उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । सोक्रममा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
गोकर्णेश्वरका पुरुषको पनि असार २५ गते नै मृत्यु भएको हो । मिर्गौला रोगका बिरामी उनलाई स्वास्थ्यमा समस्या आएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
कोरोना संक्रमतिको संख्या १६ हजार ७१९
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ७० जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको डा. गौतमले बताउनुभयो ।
पछिल्लो २४ घन्टामा ४३१ जना कोरोनामुक्त भइ विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ भएका उहाँले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या आठ हजार ४४२ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा तीन हजार ६४८ जनाकोमात्र ‘पीसीआर’ परीक्षण भएको जनाइएको छ ।
हाल देशभर २४ हजार ९७ जना ‘क्वारेन्टिन’मा रहेका छन् । आठ हजार २३९ जना ‘आइसोलेसन’मा रहेका छन् । इमेजखबरमा समाचार छ ।