कोरोनाको कहर अन्तत – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक मास्क लगाए

-एजेन्सी

कोरोनाभाइरसको संक्रमण रोक्न मास्क लगाउनु पर्ने विज्ञहरूको सुझावलाई निरन्तर लत्याउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक मास्क लगाएर सार्वजनिक कार्यक्रममा देखिएका छन्।

शनिबार एक मिलिटरी अस्पताल भ्रमणका क्रममा ट्रम्पले कालो मास्क लगाएको तस्बिर सार्वजनिक भएको छ।

ट्रम्प हेलिकप्टरबाट वासिङ्टनस्थित वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा घाइते सैनिक र कोभिड-१९ का बिरामीको हेरचाहमा खटिएका व्यक्तिहरू भेट्न गएका थिए। ह्वाइटहाउसबाट निस्किने बेला उनले संवाददाताहरूलाई भनेका थिए- तपाईं जब अस्पतालमा हुनुहुन्छ, मलाई लाग्छ मास्क लगाउनु एकदमै राम्रो काम हो।

कोरोनाभाइरसको ब्रिफिङका क्रममा ट्रम्पले कहिल्यै पनि मास्कको प्रयोग गरेनन्। त्यतिमात्र होइन आफ्नो चुनावी र्‍यालीमा पनि उनी मास्क नलगाई गएका थिए।

मास्क लगाउनेबारे अमेरिकामा रिपब्लिकन र डेमोक्र्याटहरूबीच राजनीति छ। तुलनात्मक रूपमा धेरै डेमोक्र्याटहरूले मास्क लगाउँछन् भने ट्रम्पको सिको गर्दै रिपब्लिकनहरूले मास्क लगाउन मान्दैनन्।

ट्रम्पले अब सधैं मास्क लगाउँछन् कि लगाउँदैनन् भन्ने एकिन छैन।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिनदिनै बढिरहेको छ। अहिलेसम्म त्यहाँ ३२ लाख मानिसमा संक्रमण देखिएको छ भने  १ लाख ३४ हजारभन्दा बढी मानिसको ज्यान गएको छ।

विज्ञहरूको सुझाव नमान्ने, सामाजिक दूरी र लकडाउनको विरोध गर्ने  ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत साता कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।