आगामी सोमबारदेखि पाँच दिनसम्म देशभर भारी वर्षा हुने

आगामी सोमबारदेखि पाँच दिन देशभरि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका भू–भागमा भूस्खलन र पहिराे ल्याएको र अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना अझ बढाउनेप्रति विभागले सतर्क गराएको छ । 
प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजुकुमार वैद्यले बताए । 
साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ । 
मनसुन सुरु हुनुभन्दा पहिलेदेखि नै औसतभन्दा बढी वर्षा भइरहेको उनले बताए । मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुऱ्याएको छ । 
गृह मन्त्रालयमा भएको कार्यक्रममा भू–गर्भविद् शिव बाँस्कोटाले जमिन चिरा परेको र रूखहरू ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरे । 
पानीका मुहानहरू सुक्ने वा पहिलेभन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा सतर्कता अपनाउन उनले आग्रह गरे । 
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपत् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तयारी अवस्थामा राखेको बताए । सरकारी  र गैरसरकारी निकाय पनि तयारी अवस्थामा रही तत्काल परिचालन हुने अवस्थामा रहेको उनको भनाइ छ ।
नेपालमा मनसुन सुरु भएको ३० दिन (जेठ ३० देखि असार २७ सम्म) मा मनसुनजन्य विपतका घटनाबाट एक सय १० जनाको मृत्यु भएको छ । 
विभिन्न ठाउँमा गएको बाढी, पहिरो, चट्याङ सर्पदंशलगायतका मनसुनजन्य घटनाबाट ३० दिनको अवधिमा एक सय १० जनाको मृत्यु भएको प्राधिकरणले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । 
अझै ३२ जना बेपत्ता रहेका छन् भने एक सय ३२ जना घाइते छन् । विपतबाट चार सय १८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । 
पहिरोका कारण मात्रै ८१ जनाको मृत्यु भएको छ । चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण दुईजनाको मृत्यु भएको छ । 
देशका विभिन्न ३३ जिल्लामा विपतबाट मानवीय क्षति भएको छ भने ६० जिल्लामा विपतका घटना घटेका छन् । नयाँपत्रीकामा समाचार छ ।