अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोभिड १९ र लकडाउनका कारण दैनिकरूपमा गुजरा चलाउन नसक्ने अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका १० वटै वार्डका अति बिपन्न घर परिवारलाई आज एक कार्यक्रमका बिच राहत सामाग्री बितरण गरिएको छ ।
नेपाल जेसुईट शोसियल ईन्स्टिच्युट, नेपाल नाजारेथ सोशाईटि नवज्योति र सेन्ट भियर्स कलेज काठमाडौको संयुक्त सहयोगमा राहत स्वरुप खाद्य सामाग्री बितरण गरीएको हो ।
पालीका भित्रका २८१ अति बिपन्न घर परिवारलाई प्रति परिवार २५ केजी मन्सुलि चामल,२ केजी दाल,१ लिटर खानेतेल,१ केजी नुन,१ पिस हात धुने साबुन लगायतका सामाग्री सम्बन्धीत वार्डका जनप्रतिनिधि मार्फत हस्तान्तरण गरेका हुन् ।
यस्तै भुमिकास्थान नगरभित्र कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई ५० सेट पिपिइ सहितको स्वास्थ्य सामाग्रीका झोला समेत प्रदान गरीएको हो । उक्त सामाग्रीहरू आज र भोली नगरको समन्वयमा बितरण गरिने बताईएको छ ।
राहत बितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै नगर प्रमुख रेशम थापाले बिषम परीस्थितिमा पनि सहयोग पु-याउने ३ वटै संस्थाहरुलाई नगरपालीकाको तर्फबाट धन्यबाद ज्ञापन गर्नु भया । थापाले प्राप्त राहत सामाग्रीलाई सहजिकरण गरि बितरणमा सहयोग पु¥याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रम नगरउपप्रमुख खडानन्द बेल्वासे, वडा अध्यक्ष तथा नगर प्रबक्ता बाबुराम पन्थी सुनार , पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले शुभकामना मन्तब्य राख्दै अप्ठ्यारो परीस्थितीमा हातेमालो गर्ने संस्थालाई धन्यवाद प्रदान गर्नु भएको थियो ।
नेपाल जेसुईट शोसियल ईन्स्टिच्युट काठमाण्डौका फादर रोएको अध्यक्षता र नगरपालीकाका योजना सहायक शेषकान्त घिमिरे ओशनको संचालनमा सम्पन्न कार्यक्रममा सेन्ट जेभियस कलेज काठमाण्डौका आउटरीच कार्यक्रम संयोजक मोहन बन्जाडेले बिषयबस्तुमाथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका दशवटै वडाका वडाअध्यक्ष ,कर्मचारी ,पत्रकार लगायतको सहभागिता रहेको थियो ।
यसैबिच संस्थाले आजै जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत जिल्लाका सुरक्षा निकायहरुकोलागी ३५ सेट पिपिइ र स्वास्थ्य सामाग्रीको झोला अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल लाई हस्तान्तरण समेत गरेको छ ।