काठमाडौं, साउन ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आठ पटक स्थति भएर मंगलबार बसेको बैठक पनि धेरैबेर चलेन । केही निर्णय गर्दै बैठक टुंग्याइएको हो । देश बाढी पहिरोको चपेटमा रहेको भन्दै मंगलबारको बैठक पनि एकैछिन बसेर सकाइएको हो ।
बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव गरेको छ । बाढी, पहिरो तथा डुवानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले उद्धार, राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
चितवनको माडीस्थित चेपाङ बस्तीमा आगो लगाइएको घटनामा सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ ।
अर्काे बैठक साउन १३ गते बिहान ११ बजे बस्ने जनाइएको छ । स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।
प्रधानमन्त्री ओली बैठकमै जानुभएन ।
प्रधानमन्त्री ओलीको कार्यशैली र व्यवहारका कारण पार्टी र सरकार दुबै अलोकप्रिय भएको भन्दै नेकपामा उहाँलाई हटाउन दाहाल र नेता माधव नेपाल पक्ष लाग्दा लामो समयदेखि किचलो बढेको छ ।
पछिल्लो पटक भने ओली र दाहालको भेट बाक्लिएको छ । पूर्वमाओवादीपक्षीय नेताहरुले ओलीसँगै मिलेर भागबण्डा खोज्नुपर्ने निष्कर्ष निकालेका छन् । इमेजखबरमा समाचार छ ।