भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्‍चालन हुने

कान्तिपुर  
काठमाडौँ — सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्‍चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्‍चारमन्त्री युवराज खतिवडाले पठनपाठन कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय पछि गरिने बताए ।
साउन १५ देखि होटल, रेस्टुरेन्ट खोल्न दिइने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डअनुसार साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट सेवा सञ्चालन गर्न दिइने भएको छ । मन्त्रिपरिषद् बैठकले होटल, रेस्टुरेन्ट खुला गर्ने तर सामूहिक भोज, पार्टी, सेमिनार गर्न नपाइने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।
त्यस्तै हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धी ट्रेकिङ, ट्राभल, पर्वतारोहण एजेन्सी खुल्ने, बुकिङ सुरु गर्न दिइने भएको छ ।