जीवन यात्रा (कविता)

 पिताम्बर बन्जाडे
छ जीवन् अधुरो , अधुरै छ चाह ।
सत्यै कुराको , पनि छैन याद ।
खाली हात आएँ , खाली छ जानुँ ।
सहजै यो यात्रा पूरा गर्न पाऊँ !
झोला र झाम्टा , कति धेर गुथ्नु ?
बोझिल जीवन , कति दिन् चलाऊँ !
हलुकै छ खानु , हलुकै रमाऊँ !
सहजै यो यात्रा पूरा गर्न पाऊँ !
जति नै उडे नि , नझरी हुदैन ।
जे जे आइ पर्छ , नभोगी हुदैन ।
बनूँ शान्त आफै , अधिर नहोऊँ !
सहजै यो यात्रा पूरा गर्न पाऊँ !
सवैको त एउटै , पुग्ने छ ठाउँ ।
फरक छ शैली , फरक छ नाउँ ।
सन्देह धेरै , किन यो उठाऊँ !
सहजै यो यात्रा पूरा गर्न पाऊँ !
जहाँ म जाऊँ , उही हुन्छ छायाँ ।
छुटाऊँ जति नै , उही हुन्छ माया ।
न अल्झूँ न बल्झूँ ,द्रष्टा म होऊँ !
सहजै यो यात्रा पूरा गर्न पाऊँ !
अस्तु: