भूमिकास्थान नगरपालिकाको पहिलो आर्थिक वर्षको बिकास निर्माण योजना धारापानीबाट प्रारम्भ

अर्घाखाँचीडट्कम संवाददाता 
भूमिकास्थान, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका अर्घाखाँचीले आ ब ०७७/७८ मा कार्यान्वयन हुने बिकास निर्माणका योजनाहरूको सम्झौताक़ो कार्य प्रारम्भ गरेको छ ।
मिति २०७७ श्रावण ७ गते बुधबारका दिन पहिलो समझौताको रूपमा भूमिकास्थान नगरपालिका वार्ड न.४ धारापानी स्थित बीरेन्द्र आधारभूत बिद्यालयको वाल निर्माणको रू ९४३२२३.२१ बराबरको कार्यको सम्झौता भएको हो ।
येसैगरी पहिलो समझौता पश्चात नगरप्रमुख रेशम थापाले नगरपालिकाका सबै योजनाहरु समयमै समझौता गर्ने, पारदर्शी ढंगबाट योजनाको कार्यान्वयन गर्ने र अन्तिम भुक्तानीका लागि ताकेता गरी समयमै सबै कार्य सम्पन्न गर्ने र आर्थिक बर्षको अन्त्यमा विकृतिको रूपमा देखिएको असारे योजना बनाउने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिनुभयो ।
पहिलो समझौता पत्रमा हस्ताक्षर भईसके पश्चात नगरउपप्रमुख तथा नगरस्तरीय अनुगमन समितिका संयोजक खड़ानन्द बेल्बासेले नगरपालिकाका सबै योजनाहरु समयमै समझौता गर्ने, अनुगमनको कार्यलाई प्रभावकारी र निर्माण कार्य सम्पन्न योजनालाई दिगो बनाउने तर्फ ध्यान पुराउन सबै एकजुट भएर लागिपर्न निर्देशन दिनुभयो ।
पहिलो समझौता पत्रमा हस्ताक्षर गर्दै प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बिगतमा जस्तै प्रभाबकारी र पारदर्शी ढंगबाट योजनाको कार्यान्वयन गर्न सबैले आ आफ्नो क्षेत्रबाट होस्टेमा हैसे गर्दै ख़ट्न र लागि पर्न सम्बद्ध सबै कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
भूमिकास्थान नगरपालिकामा आ ब ०७७/७८ मा कार्यान्वयन हुने बिकास निर्माणका योजनाहरू निशर्त तर्फका योजना ५३ र कार्यक्रम २० गरी जम्मा ७३ रहेका छन ।