सहज विचार सरल जीवन (कविता)

  पिताम्बर बन्जाडे

सुक्दैन धर्तीको मूल,रोकिन्न नदीको जल ।
झटारो जति नै हान, वृक्ष दिन्छ मिठा फल ।।
झर्छ आँशु झर्न देऊ, पीडा व्यथा बगाउनू ।
कम्जोरी हैन मान्छेको, दु:खदर्द विसाउनू ।।
अरुको दु:खमा रम्ने, कोही नै छ यदि भने ।
पछुतोमा पीडा भोग्छ, पर्खनु छ केही दिन ।।
घामजून एक साथ, मिल्दैनन् कहिले पनि ।
तै पनि एक अर्कोमा, आस्था छ जहिले पनि ।।
रात सधै रहिरन्न, उज्यालो पनि आउछ ।
तुषारोमा शिख्रो रुख, वसन्तमा पलाउँछ ।।
मौकाको गुन मान्छेको, विर्सनै पो को सक्छ र !
वागमा रोपेको फूल, नफुलेको कहाँ छ र !
म मात्र शुध्द हूँ भन्ने, अहंभाव हटे पछि ।
वैरी पनि मित्र बन्छ, माफी दिन सकेपछि ।।
प्रतिशोध राख्नेहरू, कति तड्पिएरै मरे ।
दयाभाव राख्नेहरू, सुख सन्तोषले तरे ।।
सहजै खुल्न द्यौ हाँसो, हाँसो मै फुल्छ कोमल ।
सधै मैला पखालेरै, शुध्द हुन्छ गंगा जल ।।
बनावटी भावभंगी, अठ्याइ किल्किले पनि ।
धन मान रुपसंग,न तौल अमुल्य जीवन ।
चिन्नेले पाउँछ मोती, बगर्को ढुंगाना पनि ।
नचिन्नेले मिल्क्याउँछ, कसिंगरमा हिरा पनि ।।
अस्तु: