ठाडाको डमरु दहमा पानी भरियो

अराज बेल्बासे
ठाडा, अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिकास्थित ठाडामा रहेको डमरु दहमा पानी भरिएको छ। अग्लो डाँडामा रहेको यो दहमा एक दशकदेखि पानीको सतह घट्दै गएको थियो।
यसवर्ष पर्याप्त वर्षा भएपछि सुक्नै लागेको दह फेरि टन्न भरिएको हो। दहमा पानी भरिएपछि स्थानीय खुसी भएका छन्। उनीहरुले दहमा टन्न पानी भरिएका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।
५२ रोपनी क्षेत्रफलमा फैलिएको यो दह ६ फिट गहिरो छ। दहमा बाह्रै महिना पानीको सतह एकै किसिमको राख्न १ सय ३० मिटर तलबाट लिफ्ट प्रविधिमार्फत खोलाको पानी तान्ने प्रयास गरिएपनि अझै सफल भएको छैन। यहाँ प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र शीतगंगा नगरपालिकाको १५ लाख रुपैयाँ लगानीमा लिफ्ट मार्फत पानी तान्ने प्रविधि जडान भएकोे छ। यद्यपि यो प्रविधि अझै सफल हुन सकेको छैन।
यसपटक पर्याप्त वर्षाका कारण वर्षौपछि दह भरिएको हाे  दहमा टन्न पानी भरिएपछि स्थानीयले यसलाई जोगाउन सकिने उपायहरुको खोजी गरेका छन्।
डमरु दह पर्यटकीय गन्तव्य हो। एक दशक अघि सम्म यहाँ बाह्रै महिना पानी रहन्थ्यो। तर पछिल्ला वर्षहरुमा पानी सुकेर पिंधमा मात्रै रहंदै आएको थियो। वर्षातका समयमा समेत दहमा टन्न पानी भरिन पाएको थिएन।
दहमा टन्न पानी भरेर पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले लिफ्ट मार्फत पानी तान्ने प्रविधिको परीक्षण गरिएपनि काम शुरु भएको थिएन। यसपटक वर्षाले दह भरिएको छ। अब छिट्टै लिफ्टको पानी तानेर यसलाई पानी भरिएकै अवस्थामा राख्ने प्रयास गरिने शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए।
‘डमरु दह शीतगंगाको सम्पत्ति हो, पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय संरचना बनाउन लागेका छौं–नगर प्रमुख अधिकारीले भने–अब व्यवस्थित गर्छौं, दहमा ढल र भेल तर्काएर वर्षामा पानी सङ्लो पार्ने, चारैतिर तारबार गरेर फूल रोप्ने र पर्यटकलाई लोभ्याउने गरी चिटिक्क पार्छौं।’
प्राचीनकालमा भगवान् शिव नर्तनाञ्चल पर्वतमा ध्यान गर्न जाने क्रममा पाइला टेकेको स्थानमा डमरु आकारको पाइला बनेको र भगवान् राम वनबास जाँदा वाण हानेर पानी निस्केपछि ताल बनेको किंवदन्ती छ।  

अन्य समाचारहरु