किटेनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अविरल वर्षासँगै आएको पहिरोका कारण अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको किटेनीमा दुई घरधुरी विस्तापित हुन पुगेका छन् ।
खाँचीकोटको किटेनीका छन्द बहादुर नेपाली, किशन नेपालीको घरपरिवार पहिरोका कारण विस्तापित हुन पुगेका पुगेका हुन् । उनिहरुको घरदेखि २० मिटर तल रहेको पहिरो अहिले घरनिरै पुग्न थालिसकेको छ ।
बारीको डिलसम्म आइसकेको उक्त पहिरो कुनैपनि बेला घरमा आइपुग्ने खतरा बढेको छ । २ परिवार सुरक्षीत बासस्थानमा सरेका छन् । यस्तै गोठमा रहेका गाईबस्तुलाई सुरक्षीत स्थानमा सारिएको छ ।
यस्तै खाँचीकोटको फर्ज्याङखोला डिही र किटेनीमा अविरल वर्षासँगै आएको पहिरोका कारण अन्य ८ घरपरिवार (घरधुरी) जोखिममा परेका हुन् । जसमा ४ घरधुरी उच्च जोखिममा छन् ।
उच्च जोखिममा पर्नेमा फर्ज्याङ्गखोलाका सीता केसी, रामबहादुर पाण्डे, डिहीका भागिरथा केसी र किटेनीका कृष्ण बहादुर नेपाली किटेनी रहेका छन् ।
साथै मध्यम जोखिममा परेका घरधुरीमा डिहीका सुर्य थापा, र किटेनीका रामु नेपाली रहेका छन् । यस्तै किटेनी शान्तिनेटाको श्री भगवती प्राथमिक बिद्यालय पनि पहिरोको जोखिम परेको छ ।
यस्तै फर्ज्याङखोलाबजारमा गत असार ६ गते पहिरोले क्षति गरेको थियो । लामो समय हुँदा पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै यहाँका स्थानियबासीहरु चिन्तित तथा आक्रोसित भएका छन् ।
दर्जनौ घरपरिवार विस्तापित हुने अवस्था आउँदा पनि वार्ड तथा नगरपालिकाले कुनै चासो नदिएको उनिहरुको गुनासो छ ।
अर्घाखाँचीभर खुकुलो माटो भएका ठाउँमा जथाभावी बाटो खन्दा वर्षामा पहिरो आउँदा स्थानीय हैरान छन् ।