सन्धिखर्कको बाँगीखोलामा निरन्तर गिट्टी बालुवा उत्खनन, सयौं घर घडेरीहरु जोखिममा (भिडियो, फोटो फिचर)

बसन्त खड्का
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र १० को बिचमा पर्ने बाँगीखोलामा वर्षायाममा पनि निरन्तर गिट्टी बालुवा उत्खनन भैरहेको छ ।
वातावरण र बस्ती जोखिमका हिसाबले निशेधित यस क्षेत्रमा मध्य बर्सातमा पनि जारी उत्खननले यहाँका बासिन्दा चिन्तित छन् । जथाभावी उत्खननले गर्दा खोलाले धार परिवर्तन गर्ने खतरा हुनसक्ने र सयौं घर तथा घडेरीहरु जोखिममा पर्ने डरले स्थानीय चिन्तित छन् ।
यसरी भैरहेको उत्खननले सन्धिखर्क १ का लदाम, रतले, सन्धिखर्क २ का सिद्देस्वर टोल, सन्धिखर्क १० का रुब्दि, रुब्दि-आदर्शटोल लगायतका  घर घडेरीहरु जोखिममा पर्ने डरले स्थानीय चिन्तित छन् ।
यस क्षेत्रका ६ वटा टोल विकास समितिका पदाधिकारीहरु विभिन्न निकायमा डेलिगेशन सहित जानकारी गराउन गएको भएता पनि जुनसुकै निकायबाट आश्वासन बाहेक केहि हात नलागेको लदाम टोल सुधार समितिका अध्यक्ष पशुपति ढकालले अर्घाखाँचीडट्कमलाई बताए।
यस्तो उत्खनन नरोकिए आन्दोलनमा जानुको विकल्प नरहेको , अब ६ वटै टोल विकास समितीहरु संयुक्त आन्दोलमा जाने टोल बिकास समितिका पदाधिकारीहरुले बताए ।
यता लदामको बगैंचा र तुम्कोट जाने बाटोको भलको उचित निकाश नदिदा स्थानीयको घर डुवानमा पर्ने गरेको छ। स्थानीय रुपा बिकको घरमा भित्र पानी पस्ने डरले दुई अपाङ्ग छोरी सहित रातीमा छिमेकीको घरमा सुत्ने गरेको वहाँले बताउनुभयो ।
तल पट्टी पक्की बाटो भएको तर ठाडो नाली  नभएको कारणले आफ्नो घर भित्र पानी पसेको भन्दै उहाले सम्बन्धित निकायलाई छिटो समस्या समाधान गर्न आग्रह गर्नुभयो।

अन्य समाचारहरु