साच्चिकै यो तस्बिरले मन रोयो। रुनलाई संरचना मात्रै भत्किएको देखेर होइन। यसमा त एउटा विरासत र इतिहास ढलेको हो। चन्द्र शमशेरले बेलायती शैलीमा बि.स.१९७५ मा निर्माण गरेका हुन त्रि-चन्द्र क्याम्पस। यस क्याम्पसको भौतिक बनावट हेर्दा लाग्छ कही केही कम्ती छैन। कुनै कोठा उज्यालो, कुनै अध्यारो, कुनै मा हावा खेल्ने, कुनै गुम्म हुने त्यस्तो खालको केही समस्या नै छैन। दरबारिया शैलीमा निर्माण भएको भवन पछि क्याम्पसको लागि प्रयोग आउनु पनि चानेचुने कुरा होइन।
त्रि-चन्द्र क्याम्पस नाम सुन्ने बित्तिकै हरेक नेपालीको मनमा आउने प्रश्न भनेको,” त्यो त राजनीति गर्ने थलो हो।” म यस कुरालाई स्विकार्छु। यसले नेता मात्रै होइन, राजनेता जन्मायो। देशलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउने नेपाली उत्पादन गर्यो। यस अर्थमा एकपटक नमन गर्नै पर्छ। अध्ययन, अध्यापन र राजनीतिलाई एकैपटक संगसंगै अगाडि बढाएको क्याम्पसले नेपाली समाजको मौलिकता, सामाजिक, आर्थिक र बौद्धिक रुपान्तरणलाई महत्त्वपूर्ण जोडबल पुर्याएको छ। बेथिति, बेसङ्गति, कुरिति, अन्याय, अत्याचार र सामाजिक लापरवाहीका कारणले हुने हरेक घटना एवम परिघटनामा आवाज बुलन्द गर्न सक्ने शिक्षित नेपाली जनशक्तिको उत्पादन गरेको छ।
आज त्रि-चन्द्र क्याम्पस पुनर्निर्माण खोजिरहेछ। फेरि एकपटक सरोकारवाला निकाय संगै गुहार्दै छ। आश्वासनको महल नदिनुस महोदय, काम गर्छु भनेर विश्वासको सानो झुपडी दिनुस भनिरहेछ। यता पुनर्निर्माण प्राधिकरण राजनीतिक भर्तिकेन्द्र भएको सर्बविदित नै छ। वार्षिकोत्सबको दिनमा आएर हरेक नेताले म यसलाई “यस्तो बनाउछु र उस्तो बनाउछु” भनेर दिएको भाषणले यहाँ अरु थुप्रै भित्ताहरु चर्किसकेका छन। राजनीतिक खिचातानी भन्दा माथि उठेर यहाको शैक्षिक, प्राज्ञिक र भौतिक विकासको बिकल्प छैन भनेर बुझ्दा पनि जिम्मेवार निकाय कानमा तेल हालेर बस्नु निकम्मापनको पराकाष्ठा हो। याद रहोस सुकिला- मुकिलाहरु त्रि-चन्द्र क्याम्पसमा गरीबका मात्रै होइन, अर्बपतिका छोराछोरी समेत पढ्न आउने ठाउ हो। नपत्याए दस हजार विद्यार्थी सङ्ख्याको ढड्डा पल्टाएर हेर्दा हुन्छ । सरकारी शैक्षिक निकाय भनेर पक्षपात गर्नुपर्ने छैन। उच्च माध्यमिक परीक्षा बोर्डको परीक्षा सकिए पछि हरेक विद्यार्थीको रोजाइको क्याम्पस हो यो। यहाँ हुनुभएका प्राध्यापकहरुको गुणस्तरीय शिक्षा दिने कुरामा केही कमजोरी देख्दिन भलै केही नराम्रा नि होलान् । हामीले उपयोग गर्न कति सक्यौ भन्ने कुराले महत्त्वपूर्ण स्थान राख्छ। जे होस भौतिक पुर्वाधार विकास अहिलेको मुख्य एजेन्डा हुनुपर्छ ।
त्रि-चन्द्र क्याम्पस पुनर्निर्माण गर्ने निहु मा काठमाडौंको सिमेन्टेड महल बन्न चाहदैन। यो पुरानै शैलीको आधारमा निर्माण पर्खिरहेको छ। क्याम्पस भित्र र बाहिर रहनुभएका नेता, सरकारी निकाय, दातृसङघ सस्थाहरु र सुभेक्षक सम्पूर्णमा यस क्याम्पसको दिगो शैक्षिक र भौतिक विकासको लागि पहलकदमी लिइ दिनुहुन अनुरोध साथै छिटोभन्दा छिटो कामको थलानीको अपेक्षा गर्दछु।
लेखक: सन्तोष ढकाल
ठेगाना: तनहुँ , नेपाल