अन्ततः रुसले कोरोना खोपको उत्पादन सुरु गर्‍याे, यही महिनाकाे अन्तिमबाट मानिसलाई लगाउन थालिने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सहित कतिपय देशका वैज्ञानिकले शंका व्यक्त गरे पनि अन्ततः रुसले कोरोना खोपको उत्पादन सुरु गरेको छ ।  
रुसको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी खोप उत्पादन सुरु गरिएको जानकारी दिएको हो । उक्त खोप यही महिना (अगस्ट) को अन्तिमसम्ममा मानिसलाई लगाउन सुरु गरिने जनाइएको छ ।  
तर कतिपय विज्ञले रुसले चाँडै खोप बनाउने धुनमा अपनाउनुपर्ने सुरक्षाका मापदण्ड र परीक्षण प्रक्रिया पूरा नभएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।  
रुसमै पनि स्वतन्त्र रूपमा गरिएको जनमत सर्वेक्षणले करिब आधा जति चिकित्सक यो खोप लगाउन तयार नरहेको देखाएको छ ।  
यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना देशका वैज्ञानिकले बनाएको कोरोना खोप सबै सुरक्षा मानकमा खरो उत्रिएको र यसलाई देशको स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको जानकारी दिएका थिए । 
आफ्नो छोरीलाई समेत उक्त खोप दिँदा प्रभावकारी परिणाम आएकाले अब यो खोप चाँडै उत्पादन सुरु गर्ने बताएका थिए । एजेन्सी