काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पुशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उहाँको सम्मानमा नेपाली सेना तथा शसस्त्र प्रहरीको टुकडिले सलामी अर्पण गरेको थियो । स्वर्गीय घिमिरेको पार्थिब शरीरमा दुई छोराले दाबत्ती दिनु भएको थियो ।
यसअघि आजै विहान लैनचौरस्थित उहाँको निवास पुगि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । घिमिरे केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो ।
उहाँको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङमा भएको थियो । वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएका घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह–सम्पादकको जागिरे पनि बन्नुभयो ।
बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि उहाँले भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा रहेर काम गर्नुभएको थियो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका उहाँ कुशल गीतकार पनि हुनुहुन्थ्यो ।
चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका ‘फूलको थुङ्गा बगेर गयो ‘आजै र राति के देखेँ सपना’ निकै चर्चित छन् ।
घिमिरेले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनु भएको थियो ।
प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।
शतायु बाँचेर देहावसान हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ प्रकाशनको अन्तिम चरणमा छ ।
काठमाडौं, भदौ ३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको छ ।
बुधबार विहान घिमिरेको निवासमा पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाई राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
मंगलबार साँझ एक सय एक वर्षको उमेरमा निधन भएका राष्ट्रकवि घिमिरेको शवलाई नेपाली सेनाले स्कर्टिङ गर्दै पशुपति आर्यघाट लैजाने छ ।
घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
घिमिरेको अन्तिम श्रद्धाञ्जलीमा नेपाली सेना र सशस्त्र प्रहरीको एक/एक टुकुडीले सलामी अर्पण गर्ने सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभएको छ ।
नेपाली सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथिको उपाधि प्रदान गरेको थियो । इमेजच्यानलमा समाचार छ ।