अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा काेराेनाकाे जाेखिम बढेपछि पुन: आजबाट बुधवारबाट लकडाउन शुरु भएकाे छ । लकडाउनका कारण सन्धिखर्क लगायत जिल्लाभर सुनसान भएको छ । सबै आफ्नो घरभित्र बस्न वाध्य छन् ।
सन्धिखर्कमा मंगलबार बसेकाे सर्वपक्षीय र सर्वदलीय बैठकले आज भाद्र ३ गते बिहान ६ बजेदेखि भाद्र १० गते साँझ ६ बजेसम्म अर्घाखाँची जिल्लामा बन्दाबन्दीको घोषणा गर्ने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा मंगलबार बसेको सर्वदलीय बैठकले चाडपर्वका बेला हुने मानिसको बाक्लो आवत जावतलाई रोक्न यस्तो निर्णय गरेको थियो ।
छिमेकी जिल्लाहरू बाट बाक्लो मानिसहरू जिल्लामा भित्रिने र जिल्लाबाट पनि अन्य जिल्लामा बिनाकाम जानेक्रम बढेका कारण मंगलबार बसेको सर्वपक्षीय बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए ।
साथै बैठकले बिना काम माक्स नलगाई चाडपर्वका बेला बजारमा हिड्डुल गर्ने , बाक्लो भिड गर्ने , समुहमा तिजको गित गाएर नाचगान गर्नेलाई कार्वाही गरिने समेत निर्णय गरेको छ । तिजको बेला अनावश्यक भिडभाड नगर्न , आ-आफ्नो घरमा परिवारसँग रमाईलो गर्न ,बाहिर समुहमा घुलमेल नगर्न अनुरोध गरिएको छ ।
अटेर गरेको पाईएमा कानुन अनुसार कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । भदौ ३ गते देखि एक साता सम्म अति आवश्यक बाहेक अन्य गाडिहरू नचल्ने भएका छन् । अर्घाखाँचीमा पनि समुदायमा कोरोना फैलिन सक्ने संभावना रहेकाले जिल्ला बासी निकै सचेत र चनाखो हुन आग्रह गरिएको छ ।