अर्घाखाँचीभर तीजका कार्यक्रमहरु स्थगित भएपछि सुनसान

अर्घाखाँची जिल्लाको नुवाकोटको पोखेडाँडामा सुनसान । 
अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न अर्घाखाँची जिल्लामा निषेधाज्ञा जारी गरिएपछि आज बिहानैदेखि जिल्लाभरमा तीजका बर्तालु महिलाको भीड हुन्थ्यो ।
 प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान जिल्लाका विभिन्न क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे ।
यस वर्ष कोरोनाको महामारीका कारण जिल्लाभरका मन्दिर क्षेत्रमा सुनसान छ । चुत्राबेसीको शिवालयमा पनि सबै गतिविधि बन्द गरिएको छ । यस्तै नुवाकोटको पोखेडाँडा लगायत जिल्लाभर तीजका कार्यक्रमहरु स्थगित गरिएको छ । 
कोरोनाबाट बच्न अर्घाखाँची जिल्लामा बन्दाबन्दी जारी गरिएकाले यस वर्ष तीजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाउँदैछन् ।
आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् । प्रायःजसो बर्तालु महिला नै हुन्छन् ।
धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम भने पारिवारिक कल्याण, सुखमय दाम्पत्य जीवनको कामना, मनोकाङ्क्षा पूरा गर्ने कामनाले महिला, पुरुष दुवै व्रत बस्नुपर्ने बताउनुहुन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
बर्तालुले बिहीबार राति दर खाएर व्रतका लागि शक्ति सञ्चय गरेका थिए । आज निराहार व्रत बसी महादेवको पूजा आराधना गरिन्छ । भाद्र शुक्ल चौँथीका दिन तीज व्रत समापनका लागि गोदान, पूर्णपात्र गरी गणेश चतुर्थीका अवसरमा विघ्न विनाशक गणेशको पूजा आराधना हुन्छ । आइतबार अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरेपछि चार दिने तीज पर्व समाप्त हुन्छ ।

अन्य समाचारहरु