रसियाले कोरोना भ्याक्सिन धमाधम उत्पादन गर्दै

संसारभर नै कोरोना भाइरसको नियनत्रणका लागि खोप बनाउने प्रतिस्पर्धा चलिरहेको छ । अमेरिका, चीन, बेलायत जस्ता मुलुकले आफूहरुको खोप अन्तिम चरणमा पुगिसकेको बताएका छन् ।
तर रसियाले भने केही दिन पहिले नै आफूहरुको खोप तयार भएको तथ्य सार्वजनिक गर्यो । उसले सोभियतकालीन चन्द्रयानको नामसँग जोडेर आफ्नो भ्याक्सिन तयार भएको बतायो ।
 
रुसको उक्त घोषणा लगत्तै विश्वव्यापीरुपमा नै सुनको कारोबारमा समेत एकाएक गिरावट आयो ।
यसैक्रममा रुसले दोस्रो खोप समेत तयार भएको दाबी गरेको छ ।
गत ११ अगष्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो भ्याक्सिन घोषणा गरेका थिए । त्यसको ११ दिनपछि रुसले कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन तयार गरेको अर्को दावी सार्वजनिक गरेको छ ।
कोरोनाविरुद्धको भ्याक्सिन तयार भएको बताउने रुस पहिलो देश भएको छ । रुसको दावीलाई अमेरिकालगायत पश्चिमाहरुले भने हतारको काम लतार जस्तै भएको भन्दै अविश्वसनीय रहेको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले समेत रुसको दाबीलाई पत्याएको छैन । तेस्रो चरणको परीक्षण हुनु अगावै हतारमा हल्ला गरिएको उसको भनाइ छ । फिलिपिन्स तथा मेक्सिकोका राष्ट्रपतिले रुसले तयार पारेको खोप लगाउन आफूहरु तयार रहेको बताइसकेका छन् । रुसले देशभित्र उक्त भ्याक्सिन प्रयोगको अनुमति पनि दिएको छ ।
अब रुसले दोस्रो भ्याक्सिन तयार गरेको दावी गरेको डेलिमेलले जनाएको छ । डेलिमेलले लामो विवरणसहितको समाचार सामग्री प्रकाशित गर्दै भनेको छ रुसले दोस्रो खोप वा भ्याक्सिन तयार पारेको छ ।
उसले समाचारमा जनाएको छ, ‘दोस्रो भ्याक्सिनमा कुनै पनि साइड इफेक्ट नभएको रुसी दावी छ । दोस्रो भ्याक्सिनको निर्माण साइबेरियाको संसारकै प्रख्यात बायोलोजिकल इन्स्टिच्युटमा गरेको हो । यो गोप्य रिसर्च सेन्टरको रुपमा रहेको छ ।’
दोस्रो भ्याक्सिन लगाएका व्यक्तिमा कुनै पनि प्रकारको साइड इफेक्ट देखिएको छैन । भ्याक्सिन प्रयोग गरेका व्यक्ति स्वस्थ रहेको बताइएको छ । समाचारमा जनाइएअनुसार दोस्रो भ्याक्सिन पनि दुई डोज दिनुपर्ने रुसी अधिकारीले बताएका छन् ।
आगामी अक्टोबरसम्म उक्त भ्याक्सिनलाई बजारमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि खोपको उत्पादन समेत शुरु गरिएको जनाइएको छ ।
भेक्टर स्टेट रिसर्च सेन्टर अफ बायोलोजी एण्ड बायोटेक्नोलोजीमा कोरोनाविरुद्धका १३ भ्याक्सिनमा काम भइरहेको जनाइएको छ । प्रयोगशालामा विभिन्न जनावरमा ती भ्याक्सिनको प्रयोग भइरहेको छ ।
चीन, अमेरिका र बेलायती भ्याक्सिनमात्र अहिलेसम्म तेस्रो चरणमा प्रवेश गरेका छन् । तर, रुसले तेस्रो चरणको क्लिनिकल परीक्षण नगरिकनै भ्याक्सिन प्रयोग थालेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा आलोचना गरिएको छ । कोरोनाको बजार शास्त्रमा यसअघि मास्क, स्यानिटाइजर, पपञ्जा पर्नेगर्दथ्यो, अब भने भ्याक्सिन थपिएको छ । एजेन्सी