अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला जनस्वास्थ्य र अस्पतालका स्वास्थ्यकर्मीको स्वाब परीक्षणको रिपोर्ट नआउँदासम्म सेवा बन्द गरिएको छ ।
जनस्वास्थ्य कार्यालयमा कार्यरत तीन जना स्वास्थ्यकर्मी, एक कार्यालय प्रमुखसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्घाखाँची अस्पतालको इमर्जेन्सी र प्रसूतिबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो ।
आइतबार तीन स्वास्थ्यकर्मी र एक कार्यालय प्रमुखलाई संक्रमण देखिएपछि ६३ जनाको स्वाब संकलन गरिएको थियो ।
स्वास्थ्यकर्मीसँग सम्बन्धित व्यक्ति र कार्यालय प्रमुख रहेको ७ जना कर्मचारीसहित ६३ जना र सोमबार अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतमसहित ५ जना डाक्टर र अन्य स्वास्थ्यकर्मी गरी २३ जनाको स्वाब संकलन गरी पठाइने भएको छ ।
‘अस्पतालको आकस्मिक र प्रसूति सेवा सुचारु गर्न साताअघि पीसीआर रिपोर्ट नेगेटिभ आएका ३ जना डाक्टर र चार जना स्वास्थ्यकर्मी खटिन्छन् । मसहित ५ जना डाक्टर रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्छौं,’ गौतमले भने ।