अमेरिकाको विस्कन्सिनमा एक अश्वेत पुरूषलाई प्रहरीले गोली हानेपछि हिंसा भड्कियो

अमेरिकाको विस्कन्सिनमा प्रहरीले एक अश्वेत पुरुषलाई उनका तीन बच्चाकै सामुन्ने सात राउण्ड गोली हानेपछि क्रूद्ध बनेका सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका छन् ।
उनीहरुले गाडी लगायतमा आगजनी गरेका छन् भने प्रहरीसँग झडप भएको छ । प्रहरीले भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरेका छन् भने सम्भावित हिंसालाई ध्यानमा राख्दै राज्यका गभर्नरले नेशनल गार्डलाई परिचालन गर्ने आदेश दिएका छन् ।
राज्यको केनोशा शहरमा २९ वर्षीय याकुब ब्लेकलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले आइतबार उनको ढाडमा ७ राउण्ड गोली प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।
सार्वजनिक भएको भिडिओमा प्रहरीले घेराबन्दी गर्दागर्दै आफ्नो गाडीमा प्रवेश गर्न लागेका उनलाई लुगामा समातेर प्रहरीले लगातार पछाडीबाट गोली हानेको देखिन्छ ।
प्रहरीले गोली हान्दा उनका तीन सन्तान गाडी भित्र नै रहेका थिए । प्रहरीको ज्यादती सार्वजनिक हुनेबित्तिकै मानिसहरु प्रदर्शनमा उत्रेका हुन् ।
केही महिना अघि पनि अमेरिकाको मिनियापोलिसमा एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरीले घुँडाले थिचेर हत्या गरेका थिए । त्यसपछि अमेरिकाभर व्यापक प्रदर्शन गरिएका थिए । एजेन्सी