अब विदेशमा पढ्न जाने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर वितरण खुला गरिने

सरकारले विदेशमा पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नो अब्जेक्सन लेटर दिने शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नो अब्जेक्सन लेटर अब वितरणका लागि बाटो खुलेको जानकारी दिए।
‘नो अब्जेक्सन लेटर खुला गर्ने मन्त्रालयको प्रस्ताव क्याबिनेटले पास गर्‍यो,’ उनले   भने।
कोरोनाभाइरस महामारीपछि गत चैतदेखि सरकारले विद्यार्थीलाई नो अब्जेक्सन लेटर वितरण गरेको थिएन।
अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारले विद्यार्थीलाई उक्त लेटर वितरणको बाटो खुला गरेको हो।
मन्त्री पोखरेलका अनुसार शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुइटा सदस्य पदका लागि पनि सर्च कमिटी गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ।
‘लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठन गरिएको सर्च कमिटीमा त्रिविका भिसी र शिक्षा सचिव सदस्य हुनुहुन्छ,’ उनले भने, ‘सर्च कमिटीले नाम सिफारिस गर्नेछ।’ सेतोपाटीमा सामाछार छ ।