सरकारले संघ र प्रदेशमा थप तीन लाख टन खाद्यान्न भण्डारण क्षमता बढाउने

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत संघ र प्रदेशमा भण्डारण गृह निर्माण गरेर भण्डारण क्षमता बढाउने प्रकृया अघि बढाएको छ ।
सोही अनुरुप संघ र प्रदेशस्तरमा थप तीन लाख टन खाद्यान्न भण्डारण क्षमता बढाउने तयारी गरेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नको मौज्दात बढाउनका लागि भण्डारण गृह निर्माण गर्न लागेको हो ।
बजारमा आपूर्ति व्यवस्थालाई सहज बनाउन खाद्यान्नको भण्डारण क्षमता बढाउन लागिएको हो ।
हाल कम्पनीसँग न्यून परिमाणमा खाद्यान्न भण्डारण क्षमता रहेकाले थप क्षमता बढाउन लागिएको हो ।
अहिले कम्पनीसँग मुलुकभर १ लाख ५९ हजार टन भण्डारण क्षमतामात्र रहेको छ ।
आन्तरिक वितरण प्रणालीलाई सुदृढ गर्न र आपूर्ति व्यवस्थामा पर्ने आकस्मिक अवरोधलाई सम्बोधन गर्न सहज पुग्ने कम्पनीको भनाइ छ ।
खाद्यान्नलाई भण्डारण गर्नका लागि कम्पनीले विभिन्न स्थानमा व्यावसायिक भवनसमेत निर्माण गर्न लागेको छ ।
संघमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत एक लाख टन खाद्यान्न भण्डारण गरिने छ । त्यसैगरी सातै प्रदेशमा २ लाख १० खाद्यान्न भण्डारण गरिने छ ।
भण्डारण क्षमता बढाएपछि बजारमा जुनसुकै बेला खाद्यान्नको आपूर्ति व्यवस्था सहज पार्न सहज हुने कम्पनीको भनाई छ ।
संघअन्तर्गत १ लाख टन र प्रत्येक प्रदेशमा कम्तीमा ३० हजार टनका दरले दुई लाख १० हजार टन खाद्यान्न मौज्दात राख्न भण्डारण गृह बनाउन लागिएको कम्पनीले जानकारी दिएको छ ।
भण्डारण क्षमता बढाउनका लागि भएका गोदाम मर्मत गर्ने र निजी क्षेत्रसमेतको सहभागितामा नयाँ गोदाम निर्माण गरिने कम्पनीले जानकारी दिएको छ । इमेजच्यानलमा समाचार छ ।