लक्ष्मण घिमिरे
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले चालु आर्थिक वर्षको विकास योजना सम्बन्धि पुस्तिका सार्वजनिक गरेको छ ।
नवौं गाउँसभाबाट स्विकृत आर्थिक वर्ष २०७७/०७८ को निती तथा कार्यक्रम बमोजिम चालु आर्थिक वर्षका कार्यक्रम पुस्तिका मार्फत सार्वजनिक गरिएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए । मालारानी गाउँपालिकाले चालु आर्थिक वर्षका लागी ६४ करोड ७० लाख भन्दा धेरैको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको निति तथा कार्यक्रम र बजेट कार्यान्वयनबाट विकास र कृषीमा गरिएको आधुनिकिकरण र व्यवसायिकरणबाट स्वरोजगारका आधारशिला तयार भएको अध्यक्ष आचार्यले बताए । कृषी र पशुपालनमा युवाहरुलाई आकर्षण गर्दै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने योजना रहेको उनको भनाई छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्ती ‘भनभनेली’ ले कोभिड-१९ का कारण केही असहज भएपनी आफुहरु विकास निर्माणमा लागीपरेको बताए । समुन्नत र सुखी मालारानी बनाउन हरसम्भव प्रयास गरिएको उनले बताए । कोरोना कहरको व्यवस्थापनसंगै विकास निर्माणका कार्यहरुलाई पनी संगसंगै लैजानु पर्ने चुनौती रहेको उनको भनाई छ । कार्यसम्पादनमा अझ अब्बल, पारदर्शितामा अझ प्रष्ट, सुसासनमा अझ दृढ बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
पुस्तिकामा चालु आर्थिक वर्षका योजना, कार्यक्रम, सार्वजनिक बजेट, विशेष योजना लगायतका खाका प्रस्तुत गरिएको छ ।