सर्वहारावर्गको पार्टी वा निम्न बुर्जुवा को ?

२०६९ कार्तिक १३ गते अर्घामा । फाइल फोटो 
सन्तबहादुर नेपाली
कुनै पनि राजनीतिक दलको अन्तिम लक्ष्य भनेको राज्यसत्तामाथि कब्जा जमाउनु हो र हुनु पर्छ । राज्यसत्ता वर्गीय हुन्छ । एउटा निश्चित वर्गले आफ्नो वर्गको हितका निम्ति राज्यसत्ता आफ्नो हातमा लिनु पर्ने हुन्छ । पछिल्लो समयमा सर्वहारावर्गले पनि राज्य सत्ता हासिल गर्नको लागि शक्तिशाली र ऐतिहासिक भूमिका खेल्दै आएको छ । राज्य सत्ता प्राप्तिका निम्ति इतिहासमा ठूला ठूला रक्तपातपूर्ण संघर्ष भएका छन् । त्यसैले माक्र्सले अहिलेसम्मको इतिहासलाई वर्गसंघर्षको इतिहास बताउनु भएको छ । सर्वहारावर्गले राज्यसत्ता लिने प्रश्नमा दर्शन, साहित्य संस्कृति, कला, राजनीति थुप्रै विषयलाई पनि ठोस र वैज्ञानिक ढंगले लिंदै आएको छ । रुस तथा चीनका सर्वहारावर्गले राज्यसत्तामाथि कब्जा जमाएर सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत समाजवादी व्यवस्थाको निर्माण गरे । यो कुरा आधुनिक युगको लागि नविनतम् र ऐतिहासिक घटना हुन् । यद्यपि आज ती देशहरुमा समाजवादी व्यवस्था विघटन भैसकेका छन् तर पनि त्यही व्यवस्थाको जगमा पुँजीवादको उच्चतम विकास भएका छन् । सर्वहारावर्गका लागि राज्यसत्ता आफ्नो हातमा लिनु कति महत्वपूर्ण रहेछ भन्ने कुरा ती देशका परिवर्तनकारी घटनाहरुबाट पनि स्पष्ट हुन्छ ।
हाम्रो देशमा हामीले ने.क.पा.(मसाल)लाई एक मात्र सर्वहारावर्गको पार्टी मान्दै आएका छांैं । तर आठौं महाधिवेशनले हाम्रो पार्टीलाई सर्वहारावर्गको पार्टी हो भन्ने कुरामा प्रश्नचिन्ह खडा गरिदिएको छ । दस्तावेजमा भनिएको छ ः“सैद्धान्तिक रुपले हाम्रो पार्टी सर्वहारावर्गको पार्टी हो भन्ने कुरालार्ई पनि निरपेक्षरुपमा लिनु सही हुने छैन” । (राजनैतिक प्रतिवेदन तथा संगठनात्मक प्रस्ताव पेज नं. ३६) सातौं महाधिवेशनले स्पष्टरुपमा राजनैतिक रुपले हाम्रो पार्टी सर्वहारा वर्गको पार्टी भनेको थियो । संगठनात्मक रुपमा निम्न पुँजीवादी बताएको थियो । सातौं महाधिवेशनले हाम्रो निम्न पुँजीवादी संगठनात्मक स्वरुपलाई परिवर्तन गरी क्रान्तिकारी स्वरुपमा लैजाने लक्ष्य लिएको थियो । तेह्र वर्षपछि हाम्रो पार्टी सर्वहारावर्गको पार्टी भन्ने लायक रहेन । माथिको भनाई अनुसार अब हामी राजनीतिक रुपले पनि सर्वहारावर्गको पार्टी भनेर दावा गर्न नसक्ने भएछौं । त्यसका पछाडि दुईवटा कारण बताइएको छ ः “किनभने एकातिर, संगठनात्मक रुपमा पार्टीमा निम्न पुँजीपतिवर्गको बाहुल्यता र अर्कातिर पार्टी सदस्यहरुको सैद्धान्तिक स्तरको कमी दुवैको असर पार्टी सदस्यहरुको चरित्र र चिन्तनमा पनि पर्दछ । त्यसैले त्यसको चरित्र र चिन्तन प्रणाली मुख्य रुपले निम्न पुँजीवादी प्रकारको नै हुन्छ ।” यसरी आठौं महाधिवेशनले हाम्रो पार्टी सर्वहारावर्गको पार्टी हुन सक्दैन भनेर व्याख्या गरेको छ ।
Arghakhanchi.Com
यो बडो दुःख र आश्चर्यको कुरो छ कि हाम्रो पार्टी हिजोको जस्तो सर्वहारावर्गको पार्टी रहेन । निम्न पुुँजीवादी पार्टीको रुपमा ओर्लन पुग्यो । यो अवस्था आउनुमा गल्ती कमजोरी कसको हो ? नेतृत्वको हो कि कार्यकर्ता को ? नेतृत्वले दोष कार्यकर्तालाई दिएको छ । उसले भन्छ (१) पार्टीमा निम्न पुँजीपतिवर्गको बाहुल्यता रह्यो । (२) पार्टी सदस्यहरुको सैद्धान्तिक स्तरमा कमी आयो । पार्टीमा निम्न पुँजीपतिवर्गका व्यक्तिहरुलाई प्रवेश गराउने, बढुवा गरेर नेतृत्वमा लैजाने काम कस्ले गर्यो ? किन पार्टी सदस्यहरुलाई सर्वहाराकरण गर्न ध्यान दिइएन ? अनि पार्टी सदस्यहरुको सैद्धान्तिक स्तर उठाउनमा ध्यान नदिनु नेतृत्वको कमी हो कि कार्यकर्ता को ? एक जना साथीले पार्टी स्कूल संचालन गर्नका लागि दश लाख सहयोग गरेपछि पार्टी केन्द्रले स्कूलको व्यवस्थापन गर्यो । शुरु शुरुमा दुई दुई महिनाका लामा लामा क्लासहरु संचालन भए । तर पैसा सकिंदै गएपछि १५ दिनेमा झर्न पुग्यो । शुरुका वर्षमा चार वटा क्लास संचालन भए तर पछि वर्षमा एउटासम्म पनि जनतन १५ दिन चल्न लाग्यो । कार्यकर्ताहरुले पार्टी स्कूलबाट सैद्धान्तिक, राजनैतिक, दार्शनिक, सामाजिक तथा संगठनात्मक कार्यशैली सम्बन्धी ज्ञान हासिल गर्ने सौभाग्य प्राप्त गरेका छन् । तर त्यसलाई निरन्तरता दिने र स्थानीयस्तरसम्म पुर्याउन पहल गरिएन । पुस्तकालयको व्यवस्था गरिएन । पार्टी सदस्यहरुको सैद्धान्तिकस्तर नउठाउनुमा पार्टी नेतृत्वको कमजोरी हो कि कार्यकर्ताको ? कार्यकर्तालाई दोष दिएर नेतृत्व पन्छिन मिल्दैन ।
                   अर्घामा सभासद सन्त बहादुर नेपाली, राजामोका महसचिब डिलाराम आचार्य लगायत । २०६५ कार्तिक १२ गते । फाइल तस्बिर 
सर्वहारावर्गको पार्टीबाट निम्न बुर्जुवा पार्टीमा रुपान्तरण गर्नका लागि स्थानीय कार्यकर्ताहरु जिम्मेवार छन् भन्ने सन्देश दिन माथि उल्लेखित आरोप लगाएको हो भन्ने कुरामा कुनै सन्देह छैन । तर वास्तविकता भने बेग्लै छ । आठौं महाधिवेशनमा नयाँ जनवादी क्रान्तिका लागि जनाधार तयार पार्ने कुरा विरोध गरिएको छ । स्वयंसेवक दल, जो सातौं महाधिवेशनदेखि गठन गरिएको थियो, महाधिवेशन पूर्व नै केन्द्रीय समितिद्वारा विधिवत विघटन गरिएको छ । स्वयंसेवक दल गठन गर्न महाधिवेशनमा आएको प्रस्तावलाई ध्वनीमतले अस्वीकृत गरिएको छ । निर्वाचनलाई कार्यनीतिक उपयोगको सट्टा रणनीतिक सहभागिताको नीति अपनाइएको छ । सरकारमा जाने प्रश्नलाई कार्यनीतिक मान्नुको सट्टा रणनीति मानिएको छ । जनवर्गीय संगठनहरुको संगठनलाई ध्वस्त पारिंदै छ । पार्टीलाई अनुशासित बनाउनु पर्नेमा स्वयं नेतृत्व तहबाट अनुशासनको धज्जी उडाउने काम भएको छ । कसैले नेतृत्वको गल्ती कमजोरी औल्यायो भने त्यसलाई मौका पर्खेर पार्टीबाट निस्काशन गरिन्छ । पार्टीलाई पुरै संसदवादमा विसर्जन गरिएको छ । यो अवस्थामा पार्टीलाई सर्वहारावर्गको पार्टीबाट निम्न बुर्जुवा पार्टीमा रुपान्तरण गर्ने थालनी कसले गरेको छ ? नेतृत्व त्यसबाट पन्छिन खोजेर अवश्य पनि पन्छिन मिल्दैन ।
कुरा सर्वहारावर्गको पार्टीको मात्र होइन, राजनैतिक प्रतिवेदनमा माक्र्सवादका आधारभूत मान्यताहरुलाई नै अस्वीकार गरिएको छ । र कुनै पार्टी सदस्यहरुले प्रश्न नउठाउन भन्न खातिर भाषालाई गोल मटोल गरिएको छ । आगामी लेखहरुमा क्रमशः प्रष्ट पार्न प्रयत्न गर्ने छु ।
Arghakhanchi.Com
२०७३ चैत्र ६ गते आईतबार, सन्धिखर्क । फाइल फोटो   
विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको कुरा उठाएर पार्टीलाई संसदवादी भासमा लैजान मसाल नेतृत्वले जुन प्रकारको भूमिका खेलेको छ, त्यो व्यवहारिक प्रश्नमा प्रष्ट नदेखिएको होइन । तर नेतृत्वले के भनेर झारा टार्ने गरेको छ भने अहिले हाम्रो अगाडि कुनै विकल्प छैन । अहिले अपनाइएका संसदवादी नीतिहरु कार्यनीति मात्र हुन् । हामी नयाँ जनवादी क्रान्तिको नीति छोडेका छैनौं । मसाल नेतृृत्व वडो योजनाबद्ध प्रकारले अगाडि संसदवाद तर्फ बढिरहेको छ । पहिलो चरणमा फोरम संचालन गरेर कसको के विचार रहेछ भन्ने जानकारी प्राप्त गर्यो । त्यस अनुसार महाधिवेशनमा आफ्नो विचारसित सहमत हुनेहरुको केन्द्रीय समिति निर्माण गर्यो । हाँकलाई गोविन्दसिंह थापाले कम्पनी (प्रालि) लाई दिने छैनन् भन्ने कुरा आँकलन गरेपछि गोविन्द सिंह थापासित निहुँ खोज्यो । उनले प्रालीलाई हस्तान्तरण गर्न अस्वीकार गरेपछि निस्कासन गर्यो । त्यति मात्र गरेन गोविन्द सिंह थापा प्रकाशक÷सम्पादक रहेको हुँदा हाँक बन्द गर्यो । हाँक बन्द नगरौं, दुइटै पत्रिकालाई पार्टी मातहत संचालन गरौं वा पार्टीले नै पुनः प्रकाशन गरोस भनेर अनुरोध गर्दागर्दै ४०/५० वर्षदेखि पार्टीमा काम गर्दै आएका नेता तथा कार्यकर्ताहरुको ठूलो पंक्तिलाई कार्वाही गरियो । गोविन्द सिंह थापा जसले भारतमा नेपाली मजदुरहरुको संगठन एकता समाजको जग हाले र भारतभरि फैलाए, उनलाई जिरो प्रतिशत कम्युनिस्ट घोषणा गरे । त्यसपछि पनि बामपन्थी क्रान्तिकारीहरुलाई घोक्रेठ्याक लगाउन छाडेनन् । शुद्धीकरण गर्ने भनेर विधान विपरीत गएर अनलाइन पी.वी.को बैठक बसेर शुद्धीकरण कार्यक्रम चलाईयो । त्यसको पहिलो शिकार भारत शाखा बन्न पुग्यो । त्यसबारे कुनै प्रसंगमा लेखिने छ । कैयौं नेता कार्यकर्ताहरुलाई कार्वाही गरिएको छ । विधान विपरीत शुद्धिकरण कार्यक्रम संचालन गरेकोमा जताततै र आफ्नै पंक्तिबाट समेत विरोध भएपछि आफू इमान्दार बन्न पार्टी नेतृत्वले गल्ती स्वीकार गर्न पुग्यो । तर त्यो गल्तीलाई बैठकबाट वैधानिकता दिने काम गरियो । र कार्वाहीको अभियान अगाडि बढाउन लकडाउनको बीचोबीचमा केन्द्रीय सदस्यहरुलाई काठमाडौंमा बोलाएर त्यो गल्तीलाई सच्चाउने काम गरियो र शुद्धीकरणको आगामी कार्यक्रम संचालन गर्न केन्द्रीय समितिबाट पी.बी.ले अधिकार लिने काम भयोे । केन्द्रीय समितिको बैठकले पनि विधान विपरीत निर्णय गरेको छ । मसाल नेतृत्वले विधान मिचेर भए पनि अधिकार जति आफूले लिने प्राधिकारवादी सोंचाई अनुसार केन्द्रीय समितिले पनि निर्णय गरिदिएको छ । अब मसाल नेतृत्व यति शक्तिशाली भएको छ कि उसले कुनै पनि कमिटी भंग गर्न सक्छ, आफ्नो पक्षका व्यक्तिहरुलाई नेतृत्वमा लैजान जे पनि गर्न सक्छ । महाधिवेशनका संशोधनवादी नीतिसित असहमत जो कसैलाई पनि उसले कमिटिमा बस्न दिने छैन । जिल्ला समितिहरु पनि यदि संशोधनवादी लाइनसित असहमत छन भने ती जिल्लाहरुलाई भंग गर्ने छ । शुरुमा उनीहरुलाई फकाउने फुलाउने गर्ने छन् । नमानेमा धम्काउने छन्, त्यति गर्दा पनि नमानेमा कार्वाही गर्नेछन र जिल्ला समिति अल्पमतमा परेर भंग गरिने छन् । त्यसपछि पुनर्गठन गर्नेछन् । केन्द्रीय समिति आम कार्यकर्ताहरुको लागि नेतृत्वदायी निकाय हो । चाहे त्यो पूर्व अल्पमत होस् चाहे त्यो पूर्व बहुमत । तर आज केन्द्रीय समिति पनि मसाल नेतृत्वको लाचार छाँया बन्न पुगेको छ । विधान मिचेकोलाई मान्यता दिएको छ । मसाल नेतृत्वलाई प्राधिकार बनाएको छ । इतिहासमा यो ठूलो भूल भएको छ ।
विसौं पार्टी कांग्रेसमा निकिता खु्रुश्चेभले जुन ढंगको नीति अपनाएका थिए, आज हाम्रो नेतृत्वले त्यही नीति अपनाएको छ । खु्रश्चेभले बिसौं पार्टी कांग्रेसमा सम्पूर्ण जनताको पार्टी समेतका प्रस्तावहरु पारित गराएका थिए । रुसको बोल्शेविक पार्टीलाई सम्पूर्ण जनताको पार्टी भनिदिदां त्यतिबेला खासै प्रश्न उठेन । तर कालान्तरमा रसियन कम्युनिस्ट पार्टी पुँजीवादी पार्टीको रुपमा देखा प¥यो । संसारका कैयौं पार्टीहरुले पहिले मुख खोल्न सकेका थिएनन् । चीनले त्यसको विरोध गरेपछि मात्र सबैका आँखा खुलेका थिए । तर त्यतिबेलासम्म धेरै नै ढिलो भइसकेको थियो । वामपन्थी कमरेडहरुलाई अराजक, अनुशासनविहिन, घुसपैठिया, दुश्मनका एजेन्ट, सिआईडी, “रअ”बाट संचालित, राजापरस्त, भारतपरस्त जस्ता अराजनीतिक आरोप लगाएको छ । यी सबै राजनीतिक विचारसित सम्बन्धित लेभेल होइन । एकाध व्यक्ति, जसले आक्रोश र आवेशपूर्ण अभिव्यक्तिका साथ स्टाटस, कमेन्ट वा लेख लेख्यो भनेर सम्पूर्ण वामपन्थी साथीहरुलाई तथानाम विल्ला लगाउने र कार्वाहीको अभियान चलाउनुको तात्पर्य के हो ? कुनै व्यक्तिले छद्म नाममा केही लेख्छ भने त्यसको खोज अनुसन्धान गर्नु पार्टीको काम हो । कसैका नीजि र चारित्ररिक कुरा लेख्छ भने हामी त्यस्ता सामाग्रीलाई सही मान्दैनौं । त्यसबाट हाम्रो पार्टीको छविलाई झन मैलो बनाउँछ । तर त्यो काम एकतर्फी मात्र भएको छ भन्ने अवस्था छैन । दोहोरो चलेको छ । नेतृत्वको पक्षधरता देखाउने सिलसिलामा एकाध साथीहरुका उत्ताउला स्टाटस वा कमेन्टले हामी उत्तेजित हुँदैनौं । केही समयपछि उहाँहरुले पनि आफै बुझ्दै जानु हुनेछ । हाम्रो मुख्य विवाद भनेको संशोधनवादी नीतिसितको हो । त्यो नीतिलाई पार्टीभित्रै बसेर सच्चाउन खोजेका छौं । अल्पमतको पक्षमा समर्थन जनाएकै कारण नेतृत्वले हामीलाई “घुसपैठिया, दुश्मनका एजेन्ट, छद्मभेषी” जस्ता लेभेलहरु लगाएर पार्टीबाट भगाउन खोजिएको छ । राजनैतिक विवादलाई ओझेल पार्नकै निम्ति यसप्रकारका पदावलीहरु प्रयोग गरेर पार्टीले अराजनैतिक विवाद सिर्जना गर्न खोजेको छ । नेतृत्वले यदि पार्टीलाई सही कार्यदिशातर्फ डो¥याउन चाहन्छ भने अहिलेका राजनीतिक विवादको सही र उचित समाधान खोज्नु पर्छ । यदि यही तरिकाले मसाल नेतृत्व संशोधनवादमा रमाउन खोज्छ भने अब पार्टीभित्रका साथीहरुले पनि नेतृत्वलाई साथ दिने कि नदिने ? त्यसबारे पनि सोच्नु पर्ने आवश्यकता छ ।
Arghakhanchi.Com
Arghakhanchi.Com
Arghakhanchi.Com