सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । देश अहिले लोड्सेडिङमुक्त छ । देशमानै लोडसेडिङ नभएपछि अर्घाखाँचीमा लोडसेडिङ हुने त कुरै भएन तर अर्घाखाँचीमा विधुत आपूर्ति अनियमित भएपछि अघोषित लोडसेडिङ हो कि भन्ने अनुमान र जनगुनासो धेरै बढ्यो। यसरी व्यापक जन गुनासो बढेपछि अर्घाखाँची डट्कमले बुधवार अर्घाखाँची बितरण केन्द्रका प्रमुख बिरमान रास्काेटीसँग प्रतिक्रिया लिएको थियो ।
प्रतिक्रिया दिने क्रममा जिल्लामा लोडसेडिङ नरहेको तर प्राबिधिक समस्याले सहज बिद्धुत आपूर्ति नभएको उनले बताए । प्राबिधिक हिसाबले एउटा सबस्टेशनबाट निस्कने लाईनको लम्बाइ ११ के .भि. लाईन २० कि .मि. र ३३ के .भि. लाईन ६० कि. मि हुनुपर्नेमा अहिले अर्घाखाँचीमा लाईन लम्बाई मापदण्ड भन्दा धेरै भएको कारण समस्या बढेको उनले बताए ।
यस्तै पर्याप्त जनशक्तिको पनि अभाव रहेको र कार्यालयमा फल्ट पत्ता लगाउने स्वचालित मेशिन नभएको कारण पनि समस्या पत्ता लगाउन एक पोलदेखि अर्को पोलसम्म पुगेर हेर्नुपर्ने बाध्यताको कारण समस्या समाधानमा ढिलाई हुने गरेको उनको भनाइ छ।
आ. ब.२०६०/०६१मा ग्राहक संख्या करिब ११००० हुँदा स्वीकृत कर्मचारी संख्या ६० थियो तर हाल अर्घाखाँची बितरण केन्द्रमा ग्राहक संख्या ३६००० हुँदा पनि कर्मचारी दरबन्दी ६० नै रहेतापनि कार्यरत कर्मचारी संख्या जम्मा ३४ रहेको र यो संख्या ग्राहक संख्या अनुपातमा धेरै कम भएको कारण सहज कार्यसम्पादन असहज बनेको उनको दाबी छ । उनका अनुसार हाल बितरण केन्द्र अर्घाखाँचीमा १६ कर्मचारी लेखा प्रशासन तर्फ र १७ कर्मचारी प्राबिधिक तर्फ कार्यरत छन् ।
यस्तै दैनिक ज्यालादारीमा १८ जना र विभिन्न ठेक्का तर्फ सेवा करारमा १३ जना कार्यरत छन् । यता जिल्लामा रहेका ९५ वटा ट्रान्सर्फमरको सर्कल लाईन एउटै भएको कारण एउटा ट्रान्सर्फमरमा समस्या आउँदा अन्य सबैलाई असर पर्ने हुँदा पनि समस्या आइरहेको उनले बताए । यस्तै जिल्लामा धेरै स्थानमा कच्ची बाटो भएको र बितरण केन्द्रमा जम्मा ३ वटा सबारी साधन भएको कारण पनि समस्या समाधानमा ढिलाइ हुने गरेको उनको तर्क छ।
यद्यपि यी सबै समस्याको दीर्घकालीन समाधान सबस्टेशनहरुको निर्माण र सन्चालनपछि सहज हुने उनको भनाइ छ। हाल ३३/११ के.भि सबस्टेशन आयोजनाहरु (ठाडा हंसपुर दुर्गाफाट), १३२ के.भि. मोतिपुर -सन्धिखर्क- तम्घास पौदी -अमराई -बुर्तिबाङ आयोजनाको १३२/३३/११ के.भि.फुदबाङ सबस्टेशनहरु निर्माणका क्रममा रहेको र ती आयोजनाहरु आयोजनाकै रुपमा निर्माण भै रहेको उनले बताए ।
उक्त आयोजनाको निर्माण सम्पन्न भै सन्चालनमा आएपछि अर्घाखाँची बितरण केन्द्र अन्तर्गतका स्थानहरुमा बिद्धुत आपूर्ति अनियमित हुने समस्या समाधान हुने उनको दाबी छ।
जिल्लामा विधुत आपूर्ति अनियमित भएको दोष, नकारात्मक प्रचारबाजी गरेता पनि विधुत प्राधिकरण अर्घाखाँचीमा पर्याप्त जनशक्ति, अन्य प्राप्त सुविधा पनि नभएको देखिन्छ । तरपनि यहाँका कर्मचारीहरु दिनरात सेवामा खटिएका देखिन्छन् ।
साथै अर्घाखाँची बितरण केन्द्रका प्रमुख बिरमान रास्काेटी चैत्र महिनादेखिको लकडाउनको अवधिमा पनि जोखिम उठाएर नियमित फिल्डमा खटिएका देखिन्छन् । स्वच्छ छविका मिहिनेती, इमान्दार रास्काेटी अर्घाखाँची बितरण केन्द्रका प्रमुखको रुपमा आएदेखि जिल्लाभर बिद्धुत विस्तार, सबस्टेशनहरु निर्माण, विभिन्न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गर्ने र नयाँ पोल फेर्ने लगायत दर्जनौ काम गरेका छन् ।