भोलीदेखि अर्घाखाँची जिल्ला भित्र र बाहिर सबै सवारी साधन चल्ने, ५० प्रतिशत भाडा बढ्यो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला भित्र र बाहिर भोली असोज १ गतेदेखि लामो–छोटो दूरीको यातायात सञ्चालनमा आउने भएको छ ।
कोरोना भाइरसको संक्रमणको डरमा ६ महिनादेखि बन्द गरिएको लामो दूरीका यातायातको साधन विहीबार विहानैदेखि अर्घाखाँचीका सडकमा गुड्ने छन् ।
यसका लागि अर्घाखाँची जिल्लाका सम्पूर्ण व्यवसायीहरुले सम्पूर्ण तयाररी गरिएको जनाएका छन् । सवारीमा काम गर्ने जनशक्तिदेखि सबै विषयमा ध्यान पुर्‍याइएको उनीहरुले जनाएका छन् ।
उता काठमाडौंमा नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त रुपमा बुधबार विज्ञप्ति निकाली लामो, छोटो दूरीका सबै गाडी सञ्चालनमा आउने जनाएका छन् ।
सरकारले तोकेको आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालन गरिने ती संगठनहरुले जनाएका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर असोज १ गतेबाट लामो दूरीको यातायात पनि सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो ।
आमजनता कोरोनाका कारण आर्थिक रुपमा भारमा परेका बेला सरकारले भने सार्वजनिक यातायातमा थप ५० प्रतिशत भाडा बढाइदिएको छ । जसको मार उपभोक्ताको थाप्लामा पर्ने छ ।

अन्य समाचारहरु