मालारानीमा विप्लब नेकपा निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा संगठन विस्तार तथा स्वास्थ्य सामग्री वितरण


अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी) ले संगठन विस्तारलाई तीव्रता दिएको छ । नेकपा निकट अखिल (क्रान्तिकारी) ले अहिले देशव्यापी संगठन विस्तारलाई जोड दिएको छ ।
संगठनको ब्यूरोको निर्णय अनुसार अहिले देशव्यापी संगठन विस्तार तथा सुदृढीकरणको अभियानमा छ । यही अभियानको क्रममा अखिल (क्रान्तिकारी) अर्घाखाँची पनि संगठन विस्तारमा जुटेको छ ।
अखिल (क्रान्तिकारी) का नेता नविन खड्काको प्रमुख आतिथ्यतमा सम्पन्न भेलामा अखिल (क्रान्तिकारी) ले अर्घाखाँचीमा संगठन विस्तारलाई तीव्रता दिएको हो । हिजो सोमबार अखिल (क्रान्तिकारी) अर्घाखाँची जिल्ला अन्तर्गत मालारानीमा ठाकुर नेपालीको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन भएको छ ।
भेलालाई सम्बोधन गर्दै संगठनका नेता नविन खड्काले अर्घाखाँची जिल्लामा क्रान्तिकारी विद्यार्थी आन्दोलन सशक्त र सुझारु बनाउनुपर्ने, शिक्षामा भएका सबै दलाल, भ्रष्ट, माफिया र तस्करहरुलाई ठेगान लगाउने र शिक्षालाई निःशुल्क, सर्वसुलभ, वैज्ञानिक र व्यावहारिक शिक्षाका लागि संघर्षमा उत्रनुपर्ने, युवाहरुमा भएको समस्या राज्यबाट निर्मित भएकोले राष्ट्रियताको रक्षा गर्न, जनजीविका र जनतन्त्रलाई सुनिश्चित गर्नका लागि विद्यार्थीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको थियो ।
संगठनद्वारा घरदैलो गरी स्वास्थ्य सामग्री समेत वितरण
अखिल (क्रान्तिकारी) अर्घाखाँचीले एक गाँउमा प्रत्येक घरधुरीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
अर्घाखाँचीको एक गाँउमा रहेका ४० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण गरेको हो । स्वास्थ्य सामाग्रीमा मास्क, सेनिटाइजर र साबुन घरघरमा पुगेर वितरण गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) ले पूरा विश्व लगायत हाम्रो देशलाई नै आक्रान्त भनाइरहेको बेला घरदैलोमा पुगेर जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री वितरणको साथै सचेतना गराईएको संगठनले जनाएको छ । संगठनले यस्तो महामारीमा ज्यान दाउमा राखेर आमनागरिकलाई सूचना, सन्देश तथा सचेतना समेत प्रवाह गरिरहेको छ ।