काठमाडौं, असोज ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्नमा सम्झौता गर्नुपरेको प्रष्टोक्ति दिनुभएको छ ।
राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच सोमबार पार्टीको चुनाव चिह्न हलो कायम गर्ने सहमति बनेको छ ।
शुरुमा राप्रपाको चुनाव चिह्न हलो नै भए पनि पछि विभाजित राप्रपा नेपालले गाईलाई चुनाव चिह्न बनाएको थियो ।
हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने भए पनि अरु नेताले नमान्दा चिह्न छाड्नु परेको बताउनुभएको हो ।
सामाजिक सञ्जाल ट्वीटरमा थापाले लेख्नु भएको छ, ‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति ‘गाई’ उपयुक्त चुनावचिन्ह हो । तर, पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथी÷शुभचिन्तकहरुमा अपिल गर्दछु । अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं ।’
त्यसअघि थापाले अर्का दुई अध्यक्षप्रति लक्षित गरी केही व्यक्तिको हठ र तूष्टीकरणका लागि चिनो त्याग्नु परेको पनि उल्लेख गर्नुभएको थियो ।
थापाले आफ्नो ट्वीटमा लेख्नुभएको छ, ‘रगत पसिनाको धरातलमा गाँसिएको भावना र कायम गरिएको ‘चिनो’ तर्क र आधार विना केही व्यक्तिहरूको हठ तुष्टिकरण र प्रतिष्ठा राखिदिन परित्याग गर्नुपर्ने विवशताको पिडा स्वभावतः असहज हुन्छ ।’
यसअघि सोमबार अध्यक्षत्रयले छ महिना पहिले एकता भएको राप्रपाको चुनाव चिह्न हलो राख्न सैद्धान्तिक सहमति गरेका थिए ।
त्यसअघि राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको छुट्टाछुट्टै बैठक बसेको थियो । मंगलबार कार्यसम्पादन समितिको संयुक्त बैठक बस्नेछ । र दल दर्ताको निर्णय गर्नेछ ।
गाई साविक थापा नेतृत्वको राप्रपा तथा हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चुनाव चिह्न हो ।
यसैबीच राप्रपाले आगामी बैशाखको तेस्रो साता एकता महाधिवेशन गर्ने सहमति गरेको छ ।
२०७६ फागुन २४ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच पार्टी एकीकरणको घोषणा भएको थियो ।
राप्रपाले पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र र साझा संस्थाको रुपमा राजसंस्था रहने व्यवस्था गर्ने जनाएको छ । इमेजच्यानलमा समाचार छ ।